Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

रौतहट । नेकपा एमालेसंग पार्टी एकता गर्न आफू प्रतिबद्ध रहेको र दुनियाँको कुनैपनि शक्तिले एकता हुनबाट रोक्न नसक्ने बताइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका केही दिनयता अस्थिर अभिव्यक्ति आउन थालेका छन ।

बैशाख ९ गते पार्टी घोषणा गर्न कार्यदलस्तरमा सहमति भइ त्यसै अनुसार एकता संयोजन समितिलाई सिफारिस गरिएपनि दाहालले नयाँ लफडा निकालेपछि निर्धारित मितिमा एकता घोषणा हुन सकेन । उनले पार्टी बिधानमा जनयुद्ध शब्दको किटानी, निर्वाचन चिन्ह र बराबरी हैसियत स्पष्ट नभएसम्म पार्टी एकता हुन नसक्ने अडान लिएका थिए । बाहिर देखाउन यी तीन बिषय ल्याइएको भएपनि भित्रभित्रै दाहाल एकीकृत पार्टीको अध्यक्षका लागि एमालेले आफूलाई सुनिश्चित गर्नुपर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीसंगको वान टु वान वार्तामा यो बिषयमा उनले खुलेरै कुरा राख्ने गरेका थिए । एमालेले दाहाललाई अध्यक्षका लागि तमसुक गर्न नसकिने जवाफ दिएपछि यतिबेला प्रचण्ड तनावमा छन । एकातर्फ उनलाई एकता नगरी नहुने दबाब छ भने अर्कोतर्फ एकता गर्दा आफनो राजनीतिक भविश्य अन्धकार हुने डर छ । यही दोधारकाबीच दाहालले बैशाख ९ गते एमालेसंगको संयुक्त सभा गर्नुअघि आफनो निवासमा केन्द्रीय कार्यालयको बैठक डाकेका थिए । सो बैठकबाट उनले एक÷दुई महिना पार्टी एकता सम्भव नभएकाले तत्काल मिति घोषणा गरेर जान नसकिने निर्णय गराएका थिए ।

एमाले अध्यक्ष केपी ओली र अर्का नेता माधव नेपालप्रति पनि सशंकित रहेकाबेला दाहाललाई निर्धक्क भएर एकता गर्ने आँट आउन सकेको छैन । यो बेला उनी एकतालाई पन्छाउन चाहन्छन । सिधै एमालेसंगै एकता हुँदैन भन्न सक्ने अवस्था नभएपछि उनले बिदेशीलाई दोष दिन थालेका छन ।

बिहीबार रौतहटमा आयोजित एक कार्यक्रममा उनले बिदेशी शक्तिका कारण पार्टी एकता हुन नसकेको बताएर आफनो दोष लुकाउन खोजे । पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले वाम एकता जनताबाट अनुमोदित विषय भएकाले यसमा बिलम्ब गर्नु नहुने त बताए तर बिदेशी शक्तिहरुले एकता हुन नदिन षडयन्त्र गरिरहेको कुरा पनि भन्न छाडेनन ।

सिधासिधा कुरा छ प्रचण्ड र ओलीले चाहे भने एकता कसले रोक्न सक्छ ? बिदेशी शक्तिले रोक्न खोजेको भए त्यो कुन शक्ति हो त्यो पनि प्रचण्डले खुलाउन पर्छ ? जनतासामु भ्रम छर्न जे मन लाग्यो त्यही बोल्ने तर प्रमाणित नगर्ने ? आफनो षडयन्त्र सफल बनाउन बिदेशीलाई दोष दिने ? अहिले प्रचण्डमाथि यस्तै प्रश्न उठन थालेका छन । रौतहटमा त दाहालले एकता भाँड्न लागेको विदेशी शक्तिबिरुद्ध एकजुट भएर उत्रिन कार्यकर्तालाई आह्वान पनि गरे । यो जस्तो हास्यास्पद कुरा के हुन सक्छ ? कुन बिदेशी शक्तिबिरुद्ध जनता के भनेर उठने् ? दाहालका असन्तुलित अभिव्यक्तिको यो अर्को उदाहरण थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed