![]()
काठमाडौं ।बैशाख १२ गते शक्तिशाली बिनाशकारी भूकम्प गएको ३ बर्ष पूरा हुँदैछ । यो बिचमा पुनर्निर्माण र पीडितलाई राहत तथा अनुदान कुरा झन अलपत्र परेको छ भने सरकारको उदासिनताले पनि सीमा नाघेको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि कुल रकम रु सात खर्ब ६ अर्ब आवश्यक पर्ने भनिएपनि हालसम्म करिब रु एक खर्ब २० अर्बमात्र खर्च भएको छ ।
पटक–पटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन प्रतिवेदन’मा भूकम्पबाट भएका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा रु सात खर्ब ६ अर्ब रकम लाग्ने अनुमान गरिएको थियो । उक्त आर्थिक स्रोत जुटाउन सरकारले वि.सं. २०७२ असार १० मा दाताहरु बोलाएर ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको थियो । सम्मेलनमा २३ बहुपक्षीय, ४० द्विपक्षीय, ‘एजेन्सी’ र व्यक्तिगत गरी २५० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा द्विपक्षीय/बहुपक्षीय साझेदार तथा दातृनिकायबाट रु चार खर्ब ४० अर्बको सहायता उपलब्ध गराइने प्रारम्भिक प्रतिबद्धता प्राप्त भएको थियो । तर, सम्मेलनमा व्यक्त प्रतिबद्धतामध्ये करिब रु ३ खर्ब ४३ अर्ब २१ करोड ९२ लाख ९१ हजार ५०० मात्र वास्तविकतामा देखियो । त्यसमध्ये पनि रु दुई खर्ब ४९ अर्ब ९४ करोड चार लाख ३८ हजार २०० कोमात्र परियोजना सम्झौता हुनसक्यो ।
पुनःनिर्माणकाक्रममा अहिलेसम्म अन्तर्राष्ट्रिय दातृनिकाय र सरकारका तर्फबाट गरी करिब रु एक खर्ब २० अर्ब रकम खर्च भएको प्राधिकरणले जनाएको छ । सम्मेलनमा एसियाली विकास बैंकले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, चीनले रु ४८ अर्ब ९६ करोड, जापानले २६ अर्ब र संयुक्तराज्य अमेरिकाले १३ अर्ब सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यसबाहेक पनि द्विपक्षीय र बहुपक्षीय निकायबाट प्रतिबद्धता प्राप्त भएको थियो ।
भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएन)अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२ निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्णरुपमा क्षति भएका थिए । त्यस्तै, दुई लाख ५६ हजार ६९७ निजी घर र तीन हजार ६२२ सरकारी भवन आंशिकरुपमा क्षति भएका थिए । यस अतिरिक्त १९ हजार कक्षाकोठा ध्वस्त र एक हजार १०० कक्षाकोठा क्षतिग्रस्त भएका थिए । भूकम्पमा परी ८ हजार ९७९ जनाको ज्यान गयो भने २२ हजार ३०९ जना घाइते भए । भूकम्प र परकम्पबाट ३१ जिल्लामा अथाह धनजनको क्षति भयो । क्षतिग्रस्त सात लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा–सूचीमा रहेको र त्यसमध्ये हालसम्म एक लाख १९ हजार २३३ घर निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माणकाक्रममा हालसम्म तीन लाख ६८ हजार ७६१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र एक लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेको बताइन्छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकारणको स्थापनाको पाँच वर्षभित्र पुनःनिर्माणका सबै कार्य पूरा हुने दावी गरेका छन् । भौतिकरुपमा जोखिममा रहेका वर्गका लागि २४ हजार घर निर्माण गर्नुपर्नेछ । पाँच हजार ५०० घर निर्माणाधीन अवस्थामा रहेका छन् ।
प्राधिकरणमा झन्डै दुई लाख ५० हजार लाभग्राहीले गुनासो गरेका छन् । त्यसमध्ये अधिकांश गुनासा आफू घरमा नभएकाले लाभग्राहीको सूचीमा छुटेको र अंशबन्डा नगरी अलग्गै बसेकाले आफूहरुलाई उक्त सूचीमा समावेश गराइ पाऊँ भन्ने रहेका छन् ।


