![]()
एजेन्सी । अहिले नेपालको बैङ्किङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाले सूचनाप्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । रकम एक खाताबाट अर्को खातामा पठाउन इण्टरनेट बैङ्किङ र मोबाइल बैङ्किङ प्रयोग गरिएजस्तै किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सकिने भएको छ । यसले गर्दा समय र खर्चको बचत त भएको छ नै, खल्तीमा नगद नै बोक्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
बहुसङ्ख्यक ग्राहक अझै पनि वित्तीय साक्षरताको कमीका कारण डेबिट कार्ड र क्रेडिट कार्डको प्रयोग गर्न पनि हिच्किचाउँछन् । प्रविधिसँग अभ्यस्त हुँदै गएकाहरू एटीएम कार्ड र मोबाइल बैङ्किङसम्मको सुविधा मात्र प्रयोग गर्दछन् । कतिपयलाई डेबिट कार्ड, क्रेटिड कार्ड, इण्टरनेट बैङ्किङलगायत प्रविधिबारे अझै जानकारी छैन ।
नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा प्रयोग भएका केही प्रविधि यस्ता छन् :
टेलिफोन बैङ्किङ सेवा
ग्राहकले आधिकारिक फोनमार्फत एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्ने प्रविधिलाई टेलिबैङ्किङ भनिन्छ । फोनबाटै बैङ्किङ कारोबार गरिने भएकाले यसलाई टेलिफोन बैङ्किङ भनिएको हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने काम गर्न सकिन्छ ।
इण्टरनेट बैङ्किङ
इण्टरनेटको प्रयोग गरी ब्यालेन्स हेर्ने, रकम ट्रान्सफर गर्ने, स्टेटमेण्ट हेर्ने प्रविधिलाई इण्टरनेट बैङ्किङ भनिन्छ । यो प्रविधिले गर्दा स्टेटमेण्ट हेर्न बैङ्कसम्म गइराख्नुपर्ने बाध्यताको अन्त्य भएको छ । इण्टरनेट बैङ्किङमार्फत ई–सेवामा पैसा पठाउने, मोबाइल बिल तिर्ने, एडीएसएल वा ल्याण्डलाइन फोनको बिल तिर्ने, धारा बिजुलीको बिल तिर्नेलगायत कार्य गर्न सकिन्छ । ब्यालेन्स हेर्ने, स्टेटमेण्ट हेर्र्नेे, नयाँ चेकबूकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी सर्भिसलगायतको प्रयोग गर्न सकिने भएकाले यो प्रविधि निकै लोकप्रिय भएको छ ।
मोबाइल बैङ्किङ
नेपालमा प्रयोग भएका प्रविधिमध्ये बहुउपयोगी र सफल बैङ्किङ प्रविधि भनेकै मोबाइल बैङ्किङ हो । ट्याब्लेट फोनको उपयोग गरी बैङ्किङ सेवा दिइने भएकाले यसलाई गाउँघरमा ट्याब्लेट बैङ्किङ पनि भन्ने गरिन्छ । मोबाइल बैङ्किङ दूरसञ्चार सेवा वा इण्टरनेट सेवामार्फत पनि प्रयोग गर्न सकिने खालको छ । मोबाइल बैङ्किङको उपयोग गर्नेले एसएमएसमार्फत रकम झिकेको वा थपेको जानकारी पाइरहेको हुन्छ । यसबाहेक बैङ्कहरूले यो मोबाइल बैङ्किङको सहज उपयोगका लागि मोबाइल एपको नै विकास गरेका छन्, जसमार्फत ब्यालेन्स इन्क्वाइरी, मिनी स्टेटमेण्ट, मोबाइल टपअप, रिचार्ज, ई–सेवा, फण्ड ट्रान्सफर, पेमेण्टलगायत कार्य गर्न सकिन्छ ।
एसएमएस बैङ्किङ
मोबाइल बैङ्किङको शुरुआती रूप एसएमएस बैङ्किङ हो । २०६१ सालमा लक्ष्मी बैङ्कले पहिलोपटक यो सेवा नेपालमा भिœयाएको हो । ग्राहकले रकम झिकेको र राखेको जानकारी बैङ्क तथा वित्तीय संस्थाले यो सेवाअन्तर्गत मोबाइल एसएमएसमार्फत दिने गर्छ ।
एटीएम मेशिन
एटीएम सेवा अहिले बैङ्किङ क्षेत्रको अभिन्न अङ्ग भइसकेको छ । अहिले बैङ्कहरूले मात्र नभएर सहकारीले समेत एटीएमको व्यवस्था गर्न थालिसकेको छ । नेपाल र भारतमा चल्ने एटीएम कार्ड अहिले साधारण प्रविधिकै रूपमा प्रयोग भइरहेको छ । एटीएम मेशिनको लिङ्क नेपालभित्रका बैङ्कमा मात्र नभई, विदेशी बैङ्कहरूसँग पनि भइसकेको छ । यही कारण विदेश जाँदा डलर नै खोजी गरिरहनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
क्रेडिट कार्ड
निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरीद गर्न सकिनेगरी बैङ्कले क्रेडिट कार्ड दिएको हुन्छ । क्रेडिक कार्डमार्फत ४५ दिनसम्म निश्चित सीमाभित्रको रकम प्रयोग गर्न पाइन्छ । क्रेडिट कार्डलाई एटीएम मेशिनमा पनि प्रयोग गर्न सकिन्छ । विदेशमा एटीएम कार्डभन्दा पनि क्रेडिट कार्डमार्फत सेवा वा वस्तुको खरीद गर्ने र पेमेण्ट दिने प्रचलन छ ।
डेबिट कार्ड
बैङ्कहरूले दिने एटीएम कार्ड धेरैजसो डेबिट कार्ड नै हुने गर्छ । डेबिट कार्डको उपयोग इण्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट विभिन्न शपिङ मलहरूमा रकम तिर्न पनि सकिन्छ । सिनेमा हल र रेष्टुराँमा समेत यो कार्डको प्रयोगमार्फत भुक्तानी दिन सकिन्छ ।


