![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसंगको एकताका लागि नेताहरुको व्यवस्थापन उनीहरुको क्षमता, योग्यता र पृष्ठभूमीका आधारमा गर्नुपर्ने बताउनु भएको छ ।
रेडियो कान्तिपुरको कार्यक्रम ‘हेड लाइनर्स’ मा कुरा गर्दै नेता खनालले प्रतिशतका आधारमा नभई नेताहरुको योग्यता, क्षमता र पृष्ठभूमीको मुल्याङ्कन गरी पार्टी कमिटीमा राख्नुपर्ने बताउनुभयो । यसका लागि दुवै पार्टीका अध्यक्षले आ–आफनो पार्टीको जिम्मा लिई नेताहरुको छनौट गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेबाट अध्यक्ष केपी ओलीले जिम्मा लिनु पर्यो । उहाँले छानेका नाममा हामी केन्द्रीय कमिटीमा छलफल गछौं र निर्णय गछौं । त्यस्तै, माओवादीको जिम्मा अध्यक्ष प्रचण्डले लिनुपर्यो । त्यसैगरी छलफलमार्फत कुन कमिटीमा क–कसलाई राख्ने भन्ने कुराको टुंगो गर्नुपर्छ, प्रतिशतका आधारमा होइन । ’
पार्टी एकताका लागि सैद्धान्तिक, राजनीतिक, बैचारिक, सांगठानिक र कार्यशैलीका पक्षहरु भएकाले पूर्व घोषणा अनुसार बैशाख ९ गते एकता घोषणा नहुँदैमा आत्तिनुपर्ने केही नभएको उहाँले बताउनुभयो । जुन दिन एकता घोषणा हुन्छ, त्यही दिन ऐतिहासिक हुने भन्दै उहाँले भन्नुभयो, ‘मे दिवस आउँदैछ, माक्र्स जयन्ती पनि आउँदैछ । कुनै स्वतन्त्रता दिवसमा पनि एकता घोषणा गर्न सकिन्छ । ’
नेता खनालले पार्टी एकताका लागि हुुनुपर्ने संस्थागत बहस समाप्त भैसकेको जानकारी दिंदै नेताहरुका केही अतिरिक्त सोच, भावना, बिचारका कारण अलमल भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘ एकताका लागि ठूला बिषय अब केहीपनि छैनन, दुई अध्यक्षलाई जिम्मा दिइएको छ, उहाँहरुले अलमल रहेका सानातिना बिषय चाँडै टुंग्याउनु हुन्छ । ’
बाहिर प्रचारमा आएजस्तो जनयुद्ध र निर्वाचन चिन्हका बिषयमा समेत विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘जनयुद्ध भनेपनि सशस्त्र युद्ध भनेपनि कुरा एउटै हो, उहाँहरुले दश बर्ष युद्ध गरेकै हो, एकताका लागि यो यी शब्द बाधक बन्दैनन, यसमा एमालेकातर्फबाट कुनै समस्या छैन’ वरिष्ठ नेता खनालले स्पष्ट पार्नुभयो ।
दुवै पार्टी समान भएकाले समानताका आधारमा नै एकीकरण हुने तर पार्टीको जनाधार र शक्ति अनुसार स्थानीय कमिटीमा संख्या तलमाथि हुने बिषय सामान्य भएको उहाँले बताउनुभयो ।


