![]()
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते पार्टी एकताको घोषणा मिति तय गरिएको भएपनि एकता सम्बन्धी थुप्रैै बिषयमा सहमति हुन नसक्दा लगभग त्यो मिति टर्ने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्केको एक हप्ता भैसक्दा समेत एकता संयोजन समितिको बैठक बस्न सकेको छैन भने दुवै पार्टीका शीर्ष नेताहरुले पनि चासो देखाएका छैनन ।
एकताका लागि दुईवटा कार्यदलले आ आफ्नो प्रतिवेदन केही विवादित विषयसहित शीर्ष नेतालाई बुझाइसकेपछि एकता प्रक्रिया तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आ आफ्नै कार्यक्रममा व्यस्त छन् । उनीहरुले एकता भन्दा आफना व्यक्तिगत कार्यक्रमलाई बढी महत्व दिएका छन । त्यसैले वैशाख ९ गते गर्ने भनिएको एकता घोषणा अन्योलमा परेको छ । वैशाख २२ गतेलाई एकता घोषणाको वैकिल्पक दिनका रुपमा हेर्न थालिएको छ । यसअघि वैशाख ९ गते (अप्रिल २२) कम्युनिष्ट दल गठन भएको तिथिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गर्ने तयारी दुवै दलले गरेका थिए ।
विवादित तीनवटा विषय (जनयुद्ध, निर्वाचन चिन्ह र ५०/५० को भागवण्डा) सल्टाउन समय लाग्नेभन्दै सम्भवतः ९ गते पार्टी एकता घोषणा असम्भव देखिएको नेताहरु बताउँछन । प्रस्तावित १० वटा कमिटीमा प्रतिनिधित्व सुनिश्चित्ताको माग माओवादीले गरेको छ । तर एमाले नेताहरुले त्यसमा सहमति जनाएका छैनन् । विभिन्न संगठनात्मक कमिटीमा समानताको आधारमा गर्न सकिने तर प्रतिशतमा जान नसकिने नेताहरु बताउँछन ।


