Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

चितवन,चैत ।
चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।
सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार आइतबार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा खनालले भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो । नगरपालिका–१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घर भत्काइएको नगरपालिकाले जनाएको छ ।
दश महिनाको अवधिमा ३० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको नगरपालिकाले जनाएको छ । असारमा रत्ननगर नगरपालिका कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो ।
विभिन्न व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यवाहक नगर प्रमुख विमला दुवाडीले बताए। नगरपालिकाले सौराहाचोकबाट उत्तरतर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माणको काम शुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed