Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बीबीसी । इजरायल–गाजा सीमा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको समाचार संकलन गर्दै गर्दा इजरायली सुरक्षा फौजबाट प्रहार भएको गोली लागी घाइते भएका एक प्यालेस्टिनी पत्रकारको  मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले जनाएका छन्।

विगत एक सातादेखि भइरहेको इजरायल–गाजा क्षेत्रको प्रदर्शनमा मारिनेमा प्यालेस्टिनी ऐन मिडियाका ३० वर्षीय क्यामेराम्यान यासर मुर्ताजा २९औं व्यक्ति हुन्। घाइते भएर स्ट्रेचरमा सुतिरहेको मुर्ताजाले कालो ठूलो अंग्रेजी अक्षरमा ‘प्रेस’ लेखिएको गाढा निलो रंगको रक्षात्मक भेस्ट लगाएको तस्बिर सार्वजनिक भएका छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार उनको पेट छेडेर गोली बाहिर निस्केको थियो र उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो।

समाचार संकलन गरिरहेको पत्रकारलाई गोली लागेको विषयमा अनुसन्धान भइरहेकाले तत्कालै यस विषयमा थप प्रतिक्रिया जनाउन नसक्ने इजरायली सेनाका प्रवक्ताले जानकारी गराएका छन्।

‘द ग्रेट मार्च अफ द रिटर्न’ नाम दिइएको पछिल्लो प्रदर्शन इजरायल–गाजा क्षेत्रमा मार्च ३० देखि सुरु भएको हो। राज्यका रूपमा इजरायल गठन हुँदा भागेका वा निकालिएका प्यालेस्टिनी शरणार्थीलाई ती गाउँहरु वा सहरमा फर्किन दिनु पर्ने अधिकार माग गर्दै प्रदर्शन सुरु भएको थियो।

सीमामा अशान्ति फैलाउन नदिन वा सुरक्षाका लागि लगाइएका तारबार तोड्न नदिनका लागि इजरायलले इजरायल–गाजा क्षेत्रमा सार्पसुटरहरु तैनाथ गरेको  छ।

मुर्ताजालाई गोली लाग्दा आफूसँगै रहेको बताउने स्वतन्त्र फोटो पत्रकार असरफ अबु अम्राका अनुसार उनले हेल्मेट र रक्षात्मक भेस्ट लगाएका थिए। अबुका अनुसार मुर्ताजा र उनी दुवै जना पत्रकार भनेर प्रष्टै चिनिन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed