![]()
सप्तरी । नेपालको संविधानमाथि हस्तक्षेप र जातीय सदभाव भड्काउने प्रतिवेदन सार्वजनिक गरेको भन्दै युरोपियन युनियन (ईयू) को सर्वत्र आलोचना भैरहेकाबेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने ईयूको प्रतिवेदन सही रहेको दाबी गरेका छन् ।
संघीय प्रेस फोरम सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले युरोपियन युनियनले निर्वाचन पर्यवेक्षण पछि दिएको प्रतिवेदनको प्रशंसा गर्दे सरकारले उक्त प्रतिवेदनको विरोध गर्नु अपरिपक्क कदम भएको टिप्पणी गरे ।
‘जसको दुबै आँखा देख्छ त्यसलाई अन्धो, जो दुई खुट्टामा दौडन सक्छ उ अपाङ’ भनेजस्तै शासकवर्गलाई आरक्षण सपाङलाई अपाङ बनाउनुसरह हो’ फोरम अध्यक्ष यादवले भने, ‘समावेश हुन नसकेकालाई पो समावेशी आरक्षण दिने हो, जो शासक छन् उसलाई के को आरक्षण चाहियो ?’ यादवले ईयुको प्रतिवेदनको विरोध गरिनु भावावेशमा गरिएको अपरिपक्क कूटनीति भएको बताए ।
अध्यक्ष यादवले अपरिपक्क कुटनीती देशहितमा नरहेको टिप्पणी गर्दै कमजोर कूटनीतिक प्रयासलाई सुधार गर्न सरकारलाई आग्रह गरे । वर्तमान सरकारमा फोरम तत्काल जाने सम्भावना नरहेको समेत उनले स्पष्ट पारे ।


