![]()
बीबीसी । ६ बर्षपछि स्वदेश फर्किएकी नोबेल पुरस्कार बिजेता मलाला युसुफजाई आफनो गाउँ र आफूलाई गोली हानिएको स्थलमा पुगेकी छिन ।
सन् २०१२ मा तालिवानी लडाकुको गोली प्रहारपछि बेलायतमा बसिरहेकी मलाला पहिलोपटक शनिबार आफ्नो गाउँ पुगेकी हुन । २० बर्षीया मलाला हेलिकप्टरबाट सिधै स्वाट उपत्यकास्थित मिन्गोराको आफ्नो घर र त्यहाँबाट आफूले अध्ययन गरेको स्कुल पुगेकी थिइन।
मलालालाई सोही स्कुलबाट घर फर्कने क्रममा ६ वर्षअघि तालिवानी विद्रोहीले गोली प्रहार गरेका थिए। आफूले अध्ययन गरेको विद्यालय पुगेर उनले आफ्ना गुरु लगायत त्यहाँ भेला भएका सबैलाई धन्यबाद दिएकी थिइन्।
बिद्यालयको स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उनले लेखेकी छिन, ‘यो मेरो आफ्नै गाउँको ५ वर्ष पछिको भ्रमण हो। मलाई धेरै खुशी लागेको छ। म मेरो भुमि र संस्कृतिप्रति सधै गौरव गर्छु। हाम्रो बिद्यालय धेरै राम्रो छ, मलाई स्वागत गर्नु भएकोमा सबै जनालाई धन्यबाद। शुभकामना र प्रार्थना।’
उच्च सुरक्षाबीच मलाला युसुफजाई गत मंगलबार बेनजिर भुट्टो अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।


