Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस केन्द्रिय समिति बैठकःपौडेल र सिंहमाथी ‘व्याक फायर’

Loading

काठमाडौ,चैत ।
नेपाली कांग्रेसको संस्थापन पक्षले नेता रामचन्द्र पौडेल पक्षलाई गुटगत धारणाले ग्रसित भएर प्रस्तुत नहुन चेतावनी दिएका छन् । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले पौडेल पक्षलाई गुटगत धारणाबाट ग्रसित भएर प्रस्तुत नहुन चेतावनी दिएका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा जारी चुनावी समीक्षा आ–आफ्नो धारणा राख्दै संस्थापन पक्षका नेताहरुले वक्तव्यबाजी गरेर कांग्रेस बलियो नहुने बताए ।
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिँहले सभापति शेरबहादुर देउवालाई बुझाएको लिखित पत्रलाई बेमौसमी बाजाको संज्ञासमेत दिएका छन् । वरिष्ठ नेता पौडेलले केही साता अघि र सिँहले चैत ९ गते सभापति देउवालाई चुनावी हारको कारण बारे लिखित धारणा बुझाएका थिए । बैठकमा केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भनेः‘सभापतिज्यूलाई बुझाइएका पत्रहरु निराशा, कुण्ठा र गुटगत धारणाले ग्रसित छ । यीे बेमौसमी बाजा जस्तै छन्, वक्तव्यबाजी गरेर नेपाली कांग्रेस बन्दैन । एकता र प्रतिवद्धताका साथ जाउँ, जनता हामीसँगै छन् । जनमत घटेको छैन् ।’
त्यस्तै अर्का केन्द्रीय सदस्य रमेश रिजालले पनि सभापति देउवाका कारण मात्रै निर्वाचनमा पराजय नभएको जिकिर गरे । वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य सिँहतर्फ लक्षित गर्दैै भनेउनले भनेः‘प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको कारण सभापति मात्रै होइनन्,पार्टीभित्रको कुरा बाहिर छताछुल्ल नगर्नुस् । यो बाटो गलत हो ।’ संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई अपमानपूर्वक हराएर पाखा लगाएका कारण कांग्रेसमा बिजारोपण भएको गुटलाई पछिल्लो समय मलजल गर्ने परिपाटी मौलाएको भन्दै केन्द्रीय सदस्य रिजालले आपत्ति जनाए ।
मंगलबारको बैठकमा पौडेल पक्षीय नेताहरुले टिकट वितरणमा अनियमितता भएको भन्दै आरोप लगाएपछि संस्थापन पक्षीय नेताहरुले बिहीबारको बैठकमा कडा रुपले प्रतिवाद गरेका छन् । केन्द्रिय सदस्य कार्कीले भनेः‘टिकट वितरणमा कुनै अनियमितता भएको छैन । सामुहिक रुपमा टिकट वितरण गरिएको हो, सभापतिज्यूले उद्दारतापूर्वक सबैको कुरा सुन्नुभएको हो । अनियमितता भयो भनेर कुरा बढाउन नैतिक रुपले दिँदैन ।’
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलकै कारण निर्वाचन हारिएको जिकीर गर्दै पार्टीभित्रको अन्तर्घात र कांग्रेसले चुनावी तालमेल गरेका दलहरुको असहयोग पनि कारण बनेको स्वीकार गरेका छन् । त्यस्तै उनीहरुले भारतीय नाकाबन्दीका बेला पार्टीले कुनै प्रतिक्रिया नदिएर पनि चुनावताका घाटा व्यहोरिएको बताएका छन् ।
बिहीबारको बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, रमेश रिजाल र भिष्मराज आङदम्बेले चुनावको समयमा बद्लिएको चुनावी चित्रलाई बदल्न नसक्दा पराजय भोग्नुपरेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed