Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
देशभर एकैसाथ आज माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा देशैभर सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले देशैभर मर्यादित रूपले परीक्षा सञ्चालन भएको जनाएको छ । केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम एसईई परीक्षा हो । यसवर्ष जारी एसईई परीक्षा नयाँ पाठ्यक्रमका प्रश्नपत्रका आधारमा सञ्चालित रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ का नयाँ पाठ्यक्रमका आधारमा पहिलो पटक परीक्षा सञ्चालन भइरहेको हो । नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएको पनिकाले जनाएको छ । काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरक–फरक हुनेछ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष एसईईमा कूल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुने जानकारी दिए । देशैभर कूल १ हजार ९ सय ५६ परीक्षा केन्द्रहरुमा १९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित गरिएको छ ।
अन्य वर्षजस्तै यसवर्ष पनि सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा कायम गरिएको छ । पनिकाले काठमाडौंमा गतवर्ष ९६ केन्द्र कायम गरिएकोमा यसवर्ष ९८ वटा कायम गरिएको जनाएको छ । भने मनाङमा एउटा मात्र परीक्षा केन्द्र कायम गरिएको छ ।
अनुतिर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा सी ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्तभई ग्रेडवृद्धि परीक्षासमेत र ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसैगरी भोलि अनिवार्य नेपाली, १० गते शनिबार र ११ गते रामनवमी परेकोले यी दुई दिन विदा हुनेछ । परीक्षा तालिकाअनुसार दुईदिन बिदा दिइने हुँदा अन्तिम शनिबार परीक्षा राख्नु परेको नियन्त्रक रेग्मीले जनकारी दिए । त्यसैगरी चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिक तर्फको परीक्षा हुने भएको छ ।
यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, त्यस्तै चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिवार भने साधारण तथा संस्कृततर्फ ऐच्छिक द्धितीयका विषयहरु, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, ईलेक्ट्रिल इनर्जि, डाटावेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने छ पनिकाले जनाएको छ ।
चैत १८, १९ र २० गते प्राविधिक विषय तर्फको परीक्षा हुनेछ । पनिकाले परीक्षामा चिट चोर्ने चोराउने लगायतका अमर्यादित कार्य भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed