![]()
काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ ।
पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गर्यो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।


