![]()
काठमाडौ,फागुन ।
आगामी चैत ६ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह–चालकले विशेष पोशाक (ड्रेस) लगाउन थाल्ने भएका छन् । पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला‘विन्ड चिटर’ लगाउने छन् ।
महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो । उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् । अब यातायात मजदुरलाई व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् ।
सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालकबाटै दुब्र्यवहारमा पर्ने गरेका छन् । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिफर्म तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकामा झण्डै ३२ हजार सार्वजनिक सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।


