![]()
काठमाडौ,फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदैछन् । उनको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ । विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको परराष्ट्रविद्हरुको बुझाइ छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १० औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । तर भारत प्रशासित जम्मुकाश्मिरको उरी भन्ने ठाउँमा विद्रोही समूहले आक्रमण गरेर १७ जना भारतीय सैनिकको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भयो । भारतले पाकिस्तानबाट आएका विद्रोहीले आक्रमण गरेको भन्दै पाकिस्तान विरुद्ध‘सर्जिकल स्ट्राईक’ पनि ग¥यो । त्यस अवधिमा दुवै देशका सैनिक र गैरसैनिक गरी दर्जनौको ज्यान गयो ।
दक्षिण एशियामा परमाणु बम रहेका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानको विवादले उग्र रुप लिंदै गएपछि निर्धारित समयमा सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।
नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्क शिखर सम्मेलन आयोजना गर्न अनुकूल वातावरण बनाउन आग्रह गर्न पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको विश्लेषण हुन थालेको छ । २०७१ मंसिर १०–११ गते काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुबै देशका प्रधानमन्त्रीको हात मिलाएर सम्बन्ध सुधारको प्रयास गर्नु भएको थियो । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।


