![]()
काठमाडौ,फागुन ।
विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसंग पराजित भएको छ । जिम्बाब्वेका ब्याट्सम्यानका सामू नेपाली बलरहरु निरीह हुँदा विश्वकप छनोटको पहिलो खेलमा नेपाल ११६ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो ।
नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर दिलिप नाथ मात्र २ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । खड्का ४० रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ३५ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २३ रनमा आउट भए । नेपालले थप १२ रन जोड्दा ज्ञानेन्द्र पनि आउट भए । उनले व्यक्तिगत ३२ रन जोडे ।
पाँचौं विकेटका लागि शेरद भेषावकर र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरे । ७३ रनको साझेदारी गरेका शरद अर्धशतक (५२ रन) बनाएर आउट भए । रोहितकुमार पौडेलले आरिफसँग ५९ रनको साझेदारी गरे । रोहित ३० रनमा आउट भए । नेपालले थप चार रन जोड्दा आरिफ पनि अर्धशतक बनाएर पभेलियन फर्किए । बसन्त रेग्मीले २ रन जोडे । सोमपाल कामी १२ र सन्दिप लामिछाने ५ रनमा अविजित रहे ।
नेपालले टेष्ट राष्ट्रसंग ५० ओभर पुरै खेल्नु र २६४ रन बनाउन सकारात्मक हो तर, ३८० रनको विशाल लक्ष्य पछ्याएको टोलीका लागि यो पर्याप्त रहेन । विश्वकप छनोट खेल्दै गर्दा नेपाली टोलीको मुख्य स्ट्रेन्थका रुपमा बलिङलाई मानिएको थियो । तर, जिम्बाब्वेका ब्याट्सम्यानहरुका सामू नेपाल बलर निरिह देखिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले नेपालविरुद्ध शतक हाने । जिम्बाबेले बनाएको ३८० रन यो २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको ठूलो स्कोर हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो ।


