![]()
काठमाडौं । फागुन २९ गते मुलुकले नयाँ राष्ट्रपति पाउँदै छ । राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति तोकिएपछि मुलुकले नयाँ राष्ट्रपति पाउन लागेको हो । नयाँ राष्ट्रपति भनिएपनि अहिले बामगठवन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्तमान राष्ट्रपति बिद्या भण्डारीलाई नै दोहर्याउने रणनीतिमा लागेको प्रष्ट भएको छ ।
राष्ट्रपति भण्डारी दोहरिदा गुटगत व्यवस्थापन र आफू अनुकुल राज्य संचालन गर्न सहज हुने प्रधानमन्त्री ओलीको बुझाई छ । बाम एकताका कारण एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओलीको कुरा काटन सक्ने तागत माओवादी अध्यक्ष प्रचण्डमा छैन । राष्ट्रपति दोहरिने भए उपराष्ट्रपति र सभामुख पनि दोहर्याउनुपर्ने लबिङमा प्रचण्डसहित माओवादी नेताहरुले अडान राखेको बुझिन्छ । नयाँ निर्वाचन सम्पन्न भएर नयाँ जनादेश प्राप्त भएकाबेला के पुरानै पात्रहरु राज्यका प्रमुख निकायमा दोहर्याउनु उपयुक्त हुन्छ ? राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व सभामुख ओनसरी घर्तीले त्यस्तो के उल्लेख्य काम गर्नुभयो र उनीहरुलाई दोहर्याउनु पर्यो ? अहिले यी र यस्तै प्रश्न सडकमा समेत सुनिन थालेका छन ।
बमगठवन्धनको प्रमुख घटक नेकपा एमालेबाट पूर्व प्रधानमन्त्री एवम वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिमा प्रबलरुपमा दाबेदारी प्रस्तुत गरेका छन। एमाले भित्रै माधव नेपाल, बामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले खनालको नाममा समर्थन जनाउँदै आन्तरिक लबिङ तीव्र पारेका छन । यो बेला राष्ट्रपति खनाल हुने वा भण्डारीलाई दोहर्याउने त ?
एमालेका पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अब मुलुकको अभिभावक बन्न तयार हुनुभएको छ भने राष्ट्रपतिमा निर्वा्चित भएपछि एमालेको उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजीनामा दिनुभएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि यही पदमा रहेर मुलुकलाई निरन्तर सेवा दिन इच्छुक देखिनुभएको छ ।
राष्ट्रपति पदमा रहीरहेको मुलुकको अभिभावकलाई पुनः राष्ट्रपति पदमा उठाउने निर्णय नेकपा एमालेको स्थायी समिति,केन्द्रीय कमिटी लगायतका निकायमा कसरी प्रस्तुत हुन्छ ? यो हेर्न बाँकी नै छ । उहाँलाई पुनः राष्ट्रपति बनाउन मनोनयन गर्ने निर्वाचनको समयतालिका भित्रै राजीनामा गराउनु पर्ने हुन्छ । त्यसपछि उहाँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सर्वसम्मतिमा राष्ट्रपतिमा आउन चाहानुहुन्छ कि एमालेको सदस्यता लिएर पार्टीबाट निर्णय गराउनेतिर लाग्नुहुन्छ ? राष्टिय सभाका मनोनित सदस्यको विवादका कारण नेपाली कांग्रेसले त उहाँको नाममा सहमति दिने अवस्था छैन् । पार्टीको साधारण सदस्यता लिएर पुन उम्मेदवारी दिने हो भने त उहाँले दुई ढंगले संवैधानिक दायित्व पूरा गर्न नसकेको देखिन्छ ।
पहिलो संविधानले निर्धारण गरेको दायित्व उहाँले निर्वाह गर्न सक्नुभएन, राजीनामा दिएर पलायन गर्नुभो भन्ने आरोप आउछ ।
दोस्रो, राष्ट्रपति भैसकेर पनि पार्टी प्रवेश गर्नुभयो भने त झन आगामी दिनमा उहाँले संविधानको संरक्षक र मुलुकको अभिभावकीय दायित्व निर्वाह गर्न नसक्ने प्रष्टै देखिन्छ । जसले उहाँलाई उठाएर जिताउछ, उहाँको लोयल्टी त्यतै रहन्छ । हाम्रो संविधानले राष्ट्रपतिलाई मुलुकको सर्वोच्च निकाय मानेकोे छ , उहाँमाथि पार्टीको अर्थात धुम्बराहीको ह्वीप लाग्ने अवस्था समस्त नेपालीका लागि प्रितिकर रहने छैन् ।
राष्ट्रपति पदमा वर्तमान राष्ट्रपति भण्डारीको निरन्तरताले अरु गलत नजीर बस्ने अवस्था पनि छ । राष्ट्रपति वर्तमान संविधान, अर्थात यो संविधान निर्माण गर्ने संविधान सभा र त्यो संविधानसभा निर्माणको लागि जनमत दिने सबै नेपालीको भावनाको प्रतिक हो । हामीले राजतन्त्रलाई प्रतिस्थापित गरेर गणतन्त्रात्मक पद्धति अपनाएको हो । जनताबाट निर्वाचित हुने व्यक्तिमा पनि राजाकै शैलीमा नमरुञ्जेल शासनको आसनमा रहीरहने प्रवृत्ति उत्पन्न हुनु लोकतन्त्रको लागि शुभ संकेत होइन् ।
आफ्नो सुरक्षित राजनीतिक अवतरणको समयको पहिचान गर्न नसक्दा नेपालका राजनेताहरुको इतिहास र योगदान विलिन भएका थुप्रै उदाहरणहरु छन् । यसलार्य वर्तमान राष्ट्रपतिका सहयोगी र शुभचिन्तकहरुले पनि मनन् गर्न जरुरी छ ।
पदको आशक्ति उहाँमा किन उत्पन्न भैरहेको छ ? आफ्नै लागि हो वा पार्टीका कार्यकर्ताका लागि हो वा आसेपासेहरुको लागि हो ? उहाँले यस पदमा रहेर आफूले गर्न सक्ने काम गरिसक्नुभएको छ , देखाउन पर्ने व्यवहार देखाइसक्नु भएको छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाईसक्नु भएको छ । अब दोहोरिदा संख्यामात्र दोहोरिने हो । आलांकारिक राष्ट्रपतिले सत्तापलट अर्थात ‘कू’ भएमा बाहेक राज्यको सम्पूर्ण राजकीय शक्ति लिएर शासन गरेर देश र जनताको मुहार फेर्ने अवसर यहाँ छैन् । केवल मान प्रतिष्ठा र असल अभ्यासको लागि अभिभावक भएर बस्ने हो त्यो मिसन त पूरा भैसकेकै छ ।
राष्ट्रपति पदको निरन्तरताले उहाँलाई पतनको दिशमा अग्रसर गराउने धेरै जोेखिम छ । त्यसको छनक राष्टिय सभाका तीन जना सदस्यको मनोनयमा देखिइसकेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगको व्यक्तिगत सम्बन्ध जतिसुकै मधुर भएपनि उहाँको हठी स्वभावले राष्ट्रपतिको बनिसकेको छवि विग्रन सक्छ ।
धनको लोभ छैन भने, सत्ताको दुरुपयोग गर्ने दुराशय छैन भने, सबै नेपालीकोलागि निस्वार्थ, तटस्थ र निष्पक्ष अभिभावक भएको देखाउने हो भने हालको अवस्था उहाँको सम्मानजनक बहिर्गमनको लागि उपयुक्त हो । एक असाध्य रोगबाट पुनर्जीवन प्राप्त गरी देशको सर्वोच्च पदमा एक कार्यकाल व्यतित गरिसकेको व्यक्तिले आफ्नो कर्मप्रति सन्तुष्टी पनि लिन सक्नुपर्दछ । अवकाशप्राप्त राष्टप्रमुखको हेरविचार राज्य गर्छ, राष्ट्रपति सत्तालिप्साको प्रतीक देखिनु हुँदैन ।
पछिल्लो समयमा राष्ट्रपति भण्डारीमाथि राजनीतिक रुपमा सक्रिय हुन खोजेको आरोप पनि लागेको छ । उहाँले राष्ट्रपतिको निवासलाई एमाले र माओवादीको वार्तास्थल बनाएको र दुईपार्टी एकीकरणको मध्यस्थकर्ता बनेको आरोप पनि छ । एमालेभित्र पनि राष्ट्रपति प्रदेशको सरकार निर्माणमा समेत सक्रिय रुपमा उत्रिएको आरोप आएका छन्। सक्रिय राजनीतिप्रतिको उहाँको बढ्दो मोहले सो पदको गरिमा गुम्ने भय छ ।
नेपालको राष्ट्रप्रमुख सांस्कृतिक धरोहरको प्रतीक पनि हो । उसले थुप्रै मन्दीर र देवी देउताको पूजाअर्चना र दर्शन गर्नुपर्ने परम्परा छ । कतिपय स्थानमा पुग्दा वर्तमान राष्ट्रपतिको सक्रिय विरोध भएको छ । आमजनताको धार्मिक आस्थाप्रतिको सम्मानका लागि पनि एमालेले पुनर्विचार गर्नुपर्ने अवस्था छ ।
नेकपा एमालेभित्रबाट राष्ट्रपति पदका अर्का आकांक्षी पूर्व पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल देखिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्राथमिकतामा पर्न नसक्नुभएका खनालप्रति पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री वामदेव गौतमहरुको सद्भाव छ । प्रदेश सरकार चयन र मन्त्री चयनमा देखिएको असन्तोषले पार्टीको स्थायी समिटि र केन्द्रीय कमिटीमा पनि उहाँको पक्षमा माहोल सिर्जना गर्न सक्छ ।
राष्टपतिको निर्वाचनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाउने उम्मेदवारको भूमिका प्रतीकात्मक मात्र रहने देखिन्छ भने माओवादी केन्द्रका आकांक्षीहरु एमालेका उम्मेद्वार मैदानमा रहेसम्म चुमुर्किएर बस्नुपर्ने अवस्था छ ।
राष्टपतिको पदमा नेकपा एमालेले उठाउने उम्मेद्वारको पात्रको नामले नै एमालेले देशमा कस्तो शासन,संस्कार र राजनीतिक वातावरण सिर्जना गर्न खोजेको छ भन्ने छनक दिनेछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उपयोग गरेर पार्टी्भित्र र बाहिर लिड्को लगाउनुहुन्छ कि जीवनको उत्तरार्धमा प्रधानमन्त्रीको रुपमा देश र जनताको सेवा गर्न पाएको अवसरलाई निर्वाचनमा जनतासामु प्रतिवद्धता गरे अनुरुप शान्ति, सुशासन र समृद्धिको मार्गमा मुलुकलाई लैजान उपयोग गर्नुहुन्छ, यो एमालेजन र राज्य संयन्त्रमा रहेका उहाँका सल्लाहकार र सहयोगी तथा शुभचिन्तकहरुको भूमिकामा निर्भर गर्दछ ।


