![]()
काठमाडौ,फागुन ।
संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफल गर्ने भएको छ । सोमबार संघीय संसदको पहिलो बैठक बस्नुअघि आइतबार बिहान १० बजे राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग सचिवालयले छलफल गर्न लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले पहिलो बैठकको कार्यसूची तयारीका लागि राष्ट्रिय मान्यताप्राप्त पाँच दलसँग छलफल गर्न लागिएको जानकारी दिए ।
संसदको कार्यसञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधिको मस्यौदाबारे र बैठकको कार्यसूचीबारे जानकारी दिनका लागि पाँच दलको बैठक बोलाइएको डा.गौतमले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष चयनबारे पनि छलफल हुने बताइएको छ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अध्यक्ष र उपाध्यक्ष तथा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ ।


