Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading

बीबीसी । उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्सको समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई सहभागी हुन पठाउने निर्णय लिएको छ।

कोरियाली प्रायद्वीपमा जारी शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ अवसरका रूपमा दक्षिण कोरियाली सरकारले उक्त कदमको प्रशंसा गरेको छ। दक्षिण जाने भनिएका उत्तर कोरियाली गुप्तचर निकायका प्रमुख जेनरल मिम योङ चोललाई दक्षिण कोरियाविरुद्ध कैयौँ आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ।

यसैबीच राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले प्योङ्च्याङमा सहभागी हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ।
उत्तर कोरियाका वरिष्ठ अधिकारीको सहभागितालाई दोस्रो चरणको ओलिम्पिक्स कूटनीति भनिएको छ। ओलिम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ अनकी बहिनी किम यो जोङ सहभागी भएकी थिइन्।

यसपटक सत्तारूढ दलको एकीकृत मोर्चाको नेतृत्व गर्ने उच्चअधिकारी किम योङ चोल दक्षिणको भ्रमणमा आउन लागेका छन्।
सन् २०१० मा ४६ जना दक्षिण कोरियाली नाविकको ज्यान लिने गरी एउटा नौसैनिक डुंगामा गरिएको आक्रमणको मुख्य योजनाकार भएको आरोप उनीमाथि छ।

प्योङ्याङबाट आउने समूह तीन दिनसम्म दक्षिण कोरियामा बस्ने र उनीहरुले राष्ट्रपति मून जे इनसँग भेटवार्ता गर्ने बताइएको छ।
यसअघि ओलिम्पिक्सको उद्घाटन समारोहपछि अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच भेटवार्ता तय भएको खुलासा भएको थियो। तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले थप प्रतिबन्धहरू घोषणा गरेपछि उत्तर कोरियाले अन्तिम समयमा वार्तामा सहभागिता नजनाउने निर्णय लिएको थियो।

यसपटक दक्षिण कोरिया सरकारले उत्तर कोरिया र अमेरिकाका अधिकारीहरूबीच कुराकानी नहुने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed