![]()
एजेन्सी । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ।
१ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ । यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ औं स्थानमा थियो।
राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचांक तयार पारिएको हो ।
पछिल्लो प्रतिवेदनले सन् २०१६ को तुलनामा गएको वर्ष नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टनेश्नल नेपालका अध्यक्ष श्रीहरी अर्यालले भने, “अहिलेसम्म नेपालले प्राप्त गरेको सबैभन्दा बढी अंक ३१ हो, ३१ बाट बढेर हाम्रो ३२ हुनसकेको छैन। अझै पनि हाम्रो अवस्था भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा एकदमै नाजुक छ।“
सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो। ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।
अर्यालले सन् २०१७ मा भएका तीन तहका चुनावका कारणले राजनीतिक क्षेत्रमा केही स्थिरता हासिल भएको अपेक्षासाथ नेपालले उक्त सूचकांकमा केही प्रगति गरेको बताए।
उक्त प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणका लागि विश्वव्यापी स्तरमा नै सुस्त ढंगले कदमहरू चालिएको भन्दै चिन्ता जनाएको छ ।
सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २६ औं स्थानमा रहेको छ। भारत ८१ औं, श्रीलंका ९१ औं र माल्दिभ्स ११२ औं स्थानमा रहेका छन्। ११७ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४३ औं स्थानमा छ।


