![]()
काठमाडौं । सरकारले ६८औं प्रजातन्त्र दिवस तामझामकासाथ मनाएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।
सरकारले भने सदाभैं काठमाडौं सैनिकमञ्च टुँडीखेलमा औपचारिक कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाएको छ । समारोहमा राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश गोपाल पराजुली लगायतको उपस्थिति थियो ।
समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब मुलुक समृद्धिको यात्रामा प्रवेश गर्ने बताउनुभयो । उहाँले जनताको आकांक्षालाई ध्यानमा राखी सबै एकताबद्ध भएर अघि बढनुको बिकल्प नभएको धारणा राख्नुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा नेपाली सेनाले कवाज र परेड प्रस्तुत गरेको थियो । थुप्रै झाँक र सांस्कृति कार्यक्रम पनि समारोहमा देखाइएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको हो ।


