![]()
काठमाडौ,फागुन ।
एमाले अध्यक्ष केपी ओलीले ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा निकै महत्वाकांक्षी जनहितका धेरै घोषणा गरेका थिए । तर उनले त्यतिबेला गरेका अधिकांश घोषणा अलपत्र परेका छन् । प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २५ असोज ०७२ मा दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरेका थिए । उनको मन्त्रिपरिषद्ले गरेको यो पहिलो निर्णय थियो । तुइन विस्थापनका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, निर्धारित समयमा देशभर रहेका कुल तुइनमध्ये आधासमेत विस्थापित हुन सकेनन् ।
प्रधानमन्त्री ओलीले २४ पुस ०७२ मा पाइपलाइन जोडेर घरघरमा ग्यास पुर्याइदिने घोषणा गरेका थिए । एमालेको राजधानी विशेष समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै उनले ग्यासको सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य गरिदिने दावी गरेका थिए । तर, दुई वर्ष बितिसक्दासमेत ग्यास उत्खनन काम सुरु समेत हुन सकेको छैन् ।
पहिलोपटक प्रधानमन्त्री भएका ओलीले आफ्नो कार्यकालमा हावाबाट बिजुली निकालेर तत्कालीन अवस्थाको लोडसेडिङ हटाउने उद्घोष गरेका भए पनि यो योजनाले पनि हावा खाएको छ । ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरेका भए पनि यसमा पनि ठोस प्रगति हुन सकेन ।
ओलीले पेट्रोलियम अन्वेषण तथा उत्खननको काम सुरु भइसकेकाले अबको दुई वर्षपछि पेट्रोलमा छिमेकी देशको भर पर्नु नपर्ने बताएका थिए । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सम्झौता पनि भयो । ओलीको चीन भ्रमणका क्रममा ८ चैत ०७२ मा दुई मुलुकबीच यस्तो सम्झौता भएको थियो । त्यसपछि सातजनाको चिनियाँ विशेषज्ञ टोली नेपालमा पेट्रोलियम अन्वेषणको अध्ययन गर्न आयो । टोलीले नेपालमा पेट्रोलियम पदार्थ रहेको निष्कर्ष निकाल्यो पनि । तर, कहाँ कति छ ? कुन अवस्थामा छ ? कस्तो छ ? कसरी उत्खनन गर्न सकिन्छ ? भन्नेलगायत विषयमा विस्तृत अध्ययन भएको छैन ।
४ जेठ ०७३ मा केपी ओलीले अर्को घोषणा गरे,‘नेपालले अब आफ्नै पानीजहाज चलाउनेछ ।’ उनले नेपालको झन्डा भएको पानीजहाजले सामान आयातनिर्यात गर्ने बताए । तर, यो घोषणा पनि उसैगरी अलपत्र छ । फेरी ओलीले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । दोस्रो पटक जिम्मेवारी सम्हाल्दै गर्दा पहिलो कार्यकालमा गरेका घोषणा कार्यान्वयन गर्छन् या गर्दैनन् त्यो आगामी दिनले देखाउनेछ ।


