![]()
काठमाडौं । नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तेस्रो खेलमा आइतवार नेपाल र युएई भिड्दैछन्। डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै वान डे वर्ल्ड कप क्वालिफायरमा प्रवेश गर्न दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीलाई जितको खाँचो छ। नेपाल र युएईले २–२ खेल खेलिसकेका छन् जसमा १ जित र १ हारको नतिजा निकालेका छन्।
नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने युएईले केन्यालाई पराजित गरेको थियो। तर दोस्रो खेलमा नेपाल ओमानसँग तथा युएई क्यानडासँग पराजित भयो। अहिलेसम्म दुवै खेल जितेको क्यानडा ४ अंकका साथ ६ टिम सम्मिलित प्रतियोगाको शीर्ष स्थानमा छ।
नेपाल र युएई दुई महिना अघि मात्र डब्लुसिएल च्याम्पियनसिपमा भिडेका थिए। युएईमै भएको डब्लुसिएल च्याम्पियनसिपको अन्तिम चरणको उक्त दुवै खेल युएईले जितेको थियो। नेपाल पहिलो खेलमा ७ विकेट तथा दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो।
नेपालले सन् २०१४ यता युएईलाई ५० ओभरको खेलमा पराजित गर्न सकेको छैन। एसीसी प्रिमियर लिग २०१४ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
सन् २०१४ मै भएको वान डे वर्ल्ड कप क्वालिफायरमा नेपाल १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
सन् २०१२ मा भएको एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो भने फाइनलमा टाई भएको थियो। त्यसअघि भएको ६ खेलमा नेपाल युएईसँग पराजित भएको थियो।


