![]()
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन अस्वीकार गरेको छ । डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै कार्यालयमा निवेदन दिएका थिए ।
प्रशासन कार्यालयले प्रधानन्यायाधीश पराजुलीको नागरिता सम्बन्धी विवरण सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै दिन इन्कार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ ।
नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको छ ।


