![]()
बीबीसी । माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत हप्ताको आफ्नै निर्णय उल्ट्याएको छ । राष्ट्रपति अब्दुल्ला यामीनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको एक दिनपछि अदालतको पछिल्लो आदेश आएको हो।
बाँकी रहेका तीनजना न्यायाधीशहरूले ’राष्ट्रपतिले देखाएका चिन्ताका बीच’ आफूहरूले यसअघिको निर्णयलाई खारेज गरेको बताएका छन्। देशमा संकटकाल घोषणा गरेको केही घण्टापछि यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए।
यसअघि माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशीदले भारतलाई हस्तक्षेप गर्न आह्वान गरेका थिए। सुरक्षा फौजले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुईजना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्राउ गरेपछि नाशीदले भारतीय सेनासहित दूत पठाउन आह्वान गरेका हुन्।
राष्ट्रपति यामीनले सोमवार प्रधानन्यायाधीश अब्दुल्ला साईद र अर्को न्यायाधीश अलि हामीदलाई पक्राउ गर्न आदेश दिएका थिए।


