![]()
काठमाडौ,माघ ।
प्रदेशसभाको पहिलो बैठकको तयारीसँग सात वटै प्रदेशमा मुख्यमन्त्री, सभामूख र उपसभामुख को बन्ने भन्ने विषयले पनि चर्चा पाएको छ । म मुख्यमन्त्री ताकेका नेता पनि सभामुखको दौडमा उत्रिएका छन् ।
प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ । संसदीय दलको नेतामा पराजित भएका एकलाई सभामुख दिएर व्यवस्थापन गर्ने एमालेको तयारी छ ।प्रदेश २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावना छ । त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह र प्रभावशाली नेता मनीष सुमन प्रतिस्पर्धामा छन् ।
प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ । एमालेबाट सभामुखमा पुरुषको दाबी देखिएकाले माओवादीबाट महिला उपसभामुख हुने सम्भावना छ । एमालेबाट सभामुखका लागि डोरमणि पौडेलले इच्छा देखाएका छन् । उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् ।
प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना धेरै छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादी केन्द्रले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ । सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ ।
प्रदेश नम्बर ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन् ।
घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन् । खस–आर्य समुदायबाट पोखरेल मुख्यमन्त्री भएपछि जातीय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउन माओवादीभित्रै दबाब छ ।
माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएपछि प्रदेश ६ मा एमालेले सभामुख पाउँदैछ । तर, एमालेको आन्तरिक विवादका कारण सभामुखको टुंगो लागेको छैन । प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एक सभामुखका हुने सम्भावना छ । एमाले नेताहरूका अनुसार ज्वाला सभामुखमा जाने मनस्थितिमा छन् ।
प्रदेश ७ को सभामुख बन्न एमालेका चार नेता प्रतिस्पर्धामा छन् । वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् । डोटीबाट निर्वाचित पूर्णा जोशी, डडेल्धुराबाट निर्वाचित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वाचित अर्जुन थापा सभामुख बन्ने दौडमा छन् ।


