![]()
दैलेख । बिभिन्न बिद्यार्थी संगठनका नेताहरुले सुदूर तथा मध्यपश्चिममा ब्याप्त छाउपडी प्रथा अन्त्य गर्न अभियान संचालन गरेका छन । यसका लागि उनीहरु छाउपडी व्याप्त क्षेत्रमा पुगी चेतनामुलक कार्यक्रम संचालन गरेका छन । छाउपडि प्रथा न्यूनीकरण अभियान अन्तर्गत पहिलो चरणमा उनीहरुले दैलेखमा पुगी कार्यक्रम गरेका छन । अनेरास्ववियुकी अध्यक्ष अध्यक्ष नविना लामा, नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाही, र अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतम सहितको टोली दैलेख पुगेको हो ।
सयुक्त विद्यार्थी संगठनको टोलीले दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको वडा नं.४ को राकमकर्णालीमा मर्या्दित महिनावारी, हामी सबैको जिम्मेवारी सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
राकमकर्णालीमा भएको कार्यक्रममा बोल्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जब सम्म हामी आफु परिवर्तन हुन सक्दैनौ, तब सम्म समाज परिवर्तन हुन नसक्ने बताइन् । लामाले मुलुक राज्य पुर्नसंरचनामा गएपनि मुलुक भित्र बस्ने नागरिकहरुको पुर्नसंरचना हुन नसकेको बताइन् ।
आफु पनि यहि समुदायमा हुर्किएको महिला भएका कारण महिलामाथी हुने हिंसा, छाउपडि प्रर्था, जातिय छुवाछुत लगायत समाजका कुप्रर्था विरुद्ध अभियान चलाइरहेको लामाले बताइन् ।
यस्तै, नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले छाउपडि, महिला हिंसा र जातिय छुवाछुत जस्ता कुप्रर्थाहरु अन्त्यका लागि विद्यार्थी संघ संगठनहरुले कसम खाएर अभियानमा हिडेको बताए । समाज परिवर्तनका लागि सर्वप्रथम समाजमा बस्ने हरेक नागरिकहरुले असल शिक्षा पाउनु पर्ने बताउँदै मुलुक परिवर्तनका लागि हामी आफैबाट सुरुवात गर्नुपर्ने बताए ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले विद्यार्थी संगठनहरु समाजको रिति तिथी, धर्म संस्कृतिलाई नभई छाउगोठ भत्काउने अभियानमा लागेको बताए । रजस्वला (महिनावरी) कुनै छुवाछुत नभएको बताउदै महिनावारी हुनु महिलाहरुको नियमित पक्रिया भएको बताए ।
कार्यक्रममा आठवीस नगरपालिकाका उपप्रमुख एंव नेपाल महिला संघ केन्द्रिय सदस्य दिपा बोहोरा, नेविसंघ पूर्व केन्द्रिय सदस्य प्रेम प्रकाश शाही, अनेरास्ववियु प्रदेश नं. ६ सह इन्चार्ज एंव केन्द्रिय सचिवालय सदस्य कल्पना थापा, लगाएतका विद्यार्थी नेताहरुले छाउपडि प्रर्था सम्बन्धि आ–आफ्नो धारणा राखेका थिए ।
उनिहरुले समाजमा विद्यमान समस्यको रुपमा लिइएको छाउपडि प्रर्था न्यूनिकरणका लागि एकजुट हुन आग्रह गरेका थिए ।


