![]()
काठमाडौं । नेपाली कांग्रेसलाई नयाँ जीवन दिन आन्तरिक अभियान थालेका युवा नेताहरुले त्यसलाई तीव्रता दिन आन्तरिक गृहकार्य पनि तीव्र पारेका छन । ६ बुँदे बिज्ञप्ती जारी गर्दैै चर्चामा आएको सात भाइ ( चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, बिश्वप्रकाश शर्मा, बद्री पाण्डे र गुरुराज घिमिरे ) को समूहले पार्टीलाई आगामी ५ वर्ष्भित्रमा बलियो पार्टीका रुपमा स्थापित गर्न अभियान तीव्र पारेका हुन ।
पछिल्लो पटक सात भाइ मध्येका बिश्वप्रकाश शर्मा पार्टी प्रवक्ता भएपछि उनी यो अभियानबाट अलग भएका छन । उनले आफू कुनै व्यक्ति वा समूहको नभइ पार्टीको व्यक्ति भएको भन्दै युवा अभियानका बैठकमा आउन पनि बन्द गरेका छन ।
बिहीबार राजधानीमा गरिएको भेलामा पनि शर्मा अनुपस्थित रहे । नेता भण्डारीले पार्टी सुदृढीकरणको अभियानलाई देशव्यापी रुपमा अघि लगिने जानकारी दिए ।
बैठकमा अभियानलाई अगाडि बढाउँदै जाँदा पार्टी्भित्र र बाहिरबाट आउने सम्भावित चुनौती, अभियानको ढाँचा, अभियान सञ्चालन गर्न चाहिने आवश्यक तयारीलगायत बारेमा छलफल भएको बताइएको छ ।
यो समूहले पार्टी पुनर्गठन, आगामी दिनमा आउने चुनौतीको सामना, राष्ट्रियताको रक्षा, भावी सरकारलाई युरोपेली मुलुकका कम्युनिष्टझंै तानाशाह हुन नदिन कांग्रेसले चाल्नुपर्ने कदम, मतदाताको चाहना सम्बोधनका लागि गर्नुपर्ने कामहरु तथा केन्द्रीय समिति र महासमिति बैठकमा चलाउनुपर्ने बहसका बारेमा अभियानबाट सल्लाह–सुझाव संकलन गर्ने लक्ष्य राखेको छ ।
बैठकले अभियान सफल बनाउन छिट्टै नै राजधानीमा विभिन्न वर्गको सहभागितामा भेला आयोजना गर्ने निर्णय गरेको छ ।


