![]()
कैलाली । कैलालीको धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारबाट सुरु हुने मोफसलकै सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताका लागि तयारी लगभग सकिएको छ । प्रतियोगिताको लागि खेल मैदान सम्याउने, अतिरिक्त प्यारापिट निर्माण, टिकट व्यवस्थापन, खेलाडीलगायतको बसोबासको व्यवस्थापनका काम अन्तिम चरणमा रहेका छन ।
धनगढीस्थित क्षेत्रीय खेलकुद रंगशालामा पुस २१ देखि सुरु भई माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि आयोजकले रोलिङ गरेर मैदान सम्याएको छ । झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम प्याराफिट निर्माण गरिँदैछ । झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण भइरहेको छ ।
प्रतियोगितामा नेपालका चर्चित ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, सिएमजी संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, च्यासल युथ क्लब र थ्री स्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, भुटानको डुक स्टार क्लबले समेत प्रतियोगितामा सहभागिता जनाएको छ ।
आयोजकले सहभागी १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र काठमाडौंको च्यासल युथ क्लवका बीचमा हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५हजार ५५५ नगद पुरस्कार पाउने छन् ।


