![]()
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारेका छन । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।
संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजापछि महिलाको सहभागिता कति थप्नुपर्ने हो ? त्यो प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने उनले बताए । राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको प्रमुख आयुक्त यादवले बताए ।
राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढीमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले जानकारी दिए । यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको पनि जानकारी गराए ।
यसैबीच, यादवले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरूको आरोपको खण्डन गरेका छन् । नतिजा सार्वजनिक गर्नका लागि कानूनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरूले त्यस्तो आरोप लगाएको उनले बताए ।


