![]()
एजेन्सी,पौष ।
अमेरिकी प्रशासनले केही महिना अघि भएको अन्तर्राष्ट्रिय साइबर हमलाका लागि उत्तर कोरियालाई दोषी ठहर्याएको छ । सो साइबर हमलाले विश्वका विभिन्न स्थानमा रहेका अस्पताल, व्यवसाय र बैंकहरुमा गम्भीर क्षति पुर्याएको थियो ।
सो हमलाले १५० वटा मुलुकमा तीन लाखभन्दा बढी कम्प्युटरलाई ह्याक गरेर अरबौँको क्षति गराएको थियो । यसको अपराधीको लगातार खोजी गर्ने क्रममा अमेरिकी प्रशासनले आधिकारिक रुपमै यसमा उत्तर कोरिया संलग्न भएको दाबी गरेको छ । उनीहरुले प्रमाणसहित यस्तो आरोप लगाइरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार बोसर्टले बताएका हुन् ।
गत नोभेम्बरमा बेलायतले गरेको अनुसन्धानपछि पनि यस कार्यमा उत्तर कोरियाकै हात भएको पत्ता लागिसकेको थियो तर गतिलो प्रमाण नभएकाले यो खबर त्यसै टुङ्गिन गयो । मे महिनामा भएको यस साइबर हमलाले लाखौँ कम्प्युटरका सामग्रीलाई लक गराएर प्रयोगकर्तालाई फिरौतिको मागसमेत गरेको थियो । यसपछि यूरोपियन प्रहरीले यस हमलालाई अहिलेसम्मकै सबैभन्दा भयानक र आश्चर्यजनक हमला भएको बताएको थियो । १५० राष्ट्रको कम्प्युटरलाई नियन्त्रण गर्न सफल भएकोमा यसमा एक दुईजना मात्र संलग्न नभएर कुनै ठूलो समुह वा एउटा मुलुक नै जिम्मेवार भएको आंकलन गरिएको थियो किनकी साइबर विज्ञका लागि समेत यो घटना असामान्य थियो ।


