Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सभापति देउवा आफ्नै पार्टीको घेराबन्दीमाःदेउवा पक्ष नेता भन्छन्ः‘राजीनामा आउँदैन’

Loading

काठमाडौ,मंसिर ।
संघ प्रदेश चुनाव तोकिएकै मितिमा सफलतापूर्वक गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई चैन छैन। तत्कालीन पहिलो ठूलो दल कांग्रेसका यी सभापतिलाई चुनावमा पार्टी पराजयको अपजस झेल्नै भ्याइनभ्याई छ। देउवाले हाँकिरहेको कांग्रेसलाई यसपल्ट जनमतले तेस्रो वरीयतामा खुम्च्यायो। निर्वाचनमा‘अनपेक्षित परिणाम आएकाले’ नैतिकताका आधारमा राजीनामा दिन र विशेष महाधिवेशन बोलाउन उनलाई पार्टीभित्रैबाट तीव्र दबाब परिरहेको छ।
तर, देउवा आफैंले भने यो परिणामलाई‘अपेक्षित र स्वाभाविक’ भनेका छन्। दोस्रो र तेस्रो ठूला पार्टीबीच गठबन्धन बनेपछि कांग्रेस कमजोर देखिनु स्वाभाविक रहेको निष्कर्ष देउवाले निकालेको उनी निकटस्थहरू बताउँछन्। देउवासम्बद्ध स्रोतका अनुसार निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीकहाँ कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३२ सिट मात्रै जित्नसक्ने रिपोर्ट आएको थियो। जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उसले २३ सिट मात्रै जितेको छ।
मोरङ, कैलाली र मधेसमा सोचेजस्तो नतिजा नआएका कारण ३२ को ठाउँमा २३ सिट मात्रै जित्न सकिएको विश्लेषण कांग्रेसले गरेको छ। समानुपातिकतर्फ भने कांग्रेसले सोचेअनुसारै मत पाएको देउवा निकटस्थहरू बताउँछन्। उनीहरूका अनुसार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री सशांक कोइरालालगायत नेतासँग निर्वाचन परिणामको समीक्षामा जुटेका देउवा अर्को साता केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तयारीमा छन्।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएपछि अब प्रधानमन्त्रीले राजीनामा कहिले देलान् भन्ने चर्चा सर्वत्र छ। तर, निकटस्थहरूले भने प्रधानमन्त्रीलाई राजीनामा दिनु नपर्ने सल्लाह दिएको स्रोतको दाबी छ। राष्ट्रियसभा गठनलगत्तै नयाँ संसद्ले प्रधानमन्त्री चयन गरेपछि देउवा स्वतः प्रतिस्थापन हुने भएकाले राजीनामा दिनु नपर्ने एक निकटस्थ नेताले भने ।
ती नेताले भनेः‘निर्वाचन भइसकेको सन्दर्भमा उहाँले राजीनामा गर्नुपर्ने बाध्यात्मक अवस्था नै छैन,नयाँ संसद्ले प्रधानमन्त्री छानेपछि हालका प्रधानमन्त्री स्वतः प्रतिस्थापन हुनेछन्।’ उनका अनुसार देउवाले औपचारिक राजीनामा नदिने बरु सबै मतपरिणाम आएपछि विज्ञप्तिमार्फत निर्वाचन सफल बनाउन सबैले गरेको सहयोगप्रति धन्यवाद दिने मनस्थिति बनाएका छन्।
प्रधानमन्त्री देउवा यतिखेर मुख्यगरी प्रदेश प्रमुख र राजधानी तोक्ने गृहकार्यमा जुटेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेशहरूको अस्थायी सदरमुकाम घोषणा गर्ने र अर्को साता मात्रै प्रदेश प्रमुख नियुक्ति गर्ने गरेको निकट श्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed