![]()
बिबिसि । अन्तर्राष्ट्रिय ओलिम्पिक समिति (आइओसी)ले शीतकालीन ओलिम्पिक्समा भाग लिनबाट प्रतिबन्ध लगाएपछि रुसमा आक्रोशयुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । आइओसीको एउटा प्रतिवेदनले प्रतिबन्धित औषधीको प्रयोग नियन्त्रण सम्बन्धी प्रणालीलाई रुसले अभूतपूर्व र व्यवस्थित ढङ्गले मिचिरहेको देखाएको थियो । रुसी ओलिम्पिक कमिटिले उक्त प्रतिबन्धविरुद्ध पुनरावेदन दिने बताएको छ ।
पूर्व खेलकुदमन्त्री समेत रहेका रुसी उपप्रधानमन्त्री भिटाली मुट्कोलाई आजीवन प्रतिबन्ध लगाइएको छ । समाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रुसी विदेशमन्त्रालयकी प्रवक्ताले विश्व युद्ध, सोभियत संघको विघटन र कैयौँ प्रतिबन्धबाट बाँचेर अघि बढेको रुसलाई अहिले पनि केही फरक नपर्ने बताएकी छन् ।
संसदका उपसभामुखले उक्त प्रतिबन्धलाई अपमान र बेइज्जतीको संज्ञा दिएका छन् । उपसभामुख पिओ टोल्स्टोयले भनेका छन, “उनीहरुको शर्त तिमीहरु पश्चाताप गर र हामी सोच्नसक्छौँ, सम्भवत अबको आठ वर्षपछि तिमीहरुलाई माफी दिन सक्छौँ भन्ने छ । हामी कुनै पनि हालतमा घुँडा टेक्ने छैनौँ । “
रुसको सोचीमा सन् २०१४ मा भएको शीतकालीन ओलिम्पिक्सका क्रममा राज्यको संलग्नतामा ‘डोपिङ’ भएको आरोपमाथि अनुसन्धान भएपछि यो निर्णय लिइएको बताइएको छ । आइओसीले भनेको छ, “यो निर्णयले नराम्रो प्रवृत्तिप्रति एउटा रेखा कोरिदिएको छ ।“
यो निर्णयको रुसमा भर्त्सना गरिएको छ केही राजनीतिकर्मीले खेलबाट बाहिरिनुपर्ने बताएका छन् । तर केहीले भने स्वच्छ खेलाडीहरुले सहभागी हुन पाउने मौकाको स्वागत गरेका छन् ।
प्रख्यात स्केटिङ प्रशिक्षक टाट्याना टारासोभाले त्यसलाई “रुसी राष्ट्रिय खेलकुदको हत्या“ भनेकी छन् । रुसलाई दक्षिण कोरियामा हुने ओलिम्पिक्समा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको भएपनि आफूलाई स्वच्छ प्रमाणित गर्नसक्ने रुसी खेलाडीहरु भने ओलिम्पिक्स झण्डामुनि सहभागी बन्न अनुमति दिइएको छ ।


