Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

काठमाडौ,मंसिर ।
निर्वाचनको बेला इन्धनको आयात ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारमा सवारी साधनको प्रयोग बढेपछि इन्धनको खपत पनि बढेको हो । इन्धनको माग बढेपछि सोहीअनुसार आयात गरिएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार अक्टोबरको तुलनामा नोभेम्बरमा आयात २३ प्रतिशतले बढेको छ ।
निगमको तथ्यांकअनुसार अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको थियो । नोभेम्बरमा बढेर २ लाख ३८ हजार ५ सय ६९ किलोलिटर पुगेको छ । अगस्ट र नोभेम्बरको तुलनमा करिब ५० प्रतिशतले बढेको छ । अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार ६ किलोलिटर आयात भएको निगमको तथ्यांकमा उल्लेख छ ।
सवारी साधन वृद्धिले पनि इन्धनको आयात बढेको हो ।यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको आयात बर्सेनि बढ्दै गएको छ । मुलुकभरि करिब २४ लाख सवारी साधन सञ्चालनमा छन् । सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढी थपिएका छन् । जसले गर्दा इन्धनको आयात बर्सेनि बढ्दै गएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । निगमको तथ्यांकअनुसार मुख्यतः डिजेलको आयात भएको देखिन्छ । तथ्यांकअनुसार अक्टोबरमा १ लाख ४ सय ७ लिटर आयात भएको डिजेल नोभेम्बरमा ४० प्रतिशत बढेर १ लाख ४१ हजार ५४ किलोलिटर आयात भएको छ । अगस्टको तुलनामा भने ६८ प्रतिशत बढेको छ । अगस्टमा ८४ हजार २ सय १५ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
पेट्रोलको आयात पनि क्रमशः बढ्दै गएको छ । तथ्यांकअनुसार अगस्टमा ३७ हजार ५ सय २३ किलोलिटर, सेप्टेम्बरमा ३५ हजार ३ सय ४८, अक्टोबरमा ४२ हजार २ सय ५५ र नोभेम्बरमा ४२ हजार ७७ किलोलिटर आयात भएको छ । भारतको तुलनामा नेपालमा सस्तो हुँदा तराईमा इन्धनको खपत बढ्दै गएको निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार हाल वीरगन्जको खुद्रा मूल्य प्रतिलिटर पेट्रोल ९६ रुपैयाँ ५० पैसा छ । रक्सौलको खुद्रा मूल्य १ सय १७ रुपैयाँ ९० पैसा छ । वीरगन्जमा प्रतिलिटर डिजेलको मूल्य ७२ रुपैयाँ ५० पैसा छ । रक्सौलको खुद्रा मूल्य ९९ रुपैयाँ ४९ पैसा छ । ‘नेपालमा प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ४० पैसा र डिजेलमा २६ रुपैयाँ ९९ पैसा सस्तो पर्छ । सीमामा सस्तो हुँदा माग बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने । उनका अनुसार सस्तो भएकैले भारतबाट भित्रिएका गााडी नेपालमै इन्धन भर्ने गरेका छन् ।
भारत सरकारले उपभोक्ताबाट करिब ६ प्रकारको कर लगाउने हुँदा इन्धनको मूल्य महँगो पर्छ । भारतीय आयल निगम ९आईओसी० बाट इन्धन आयात हुँदा नेपालका लागि छुट दिइएको छ । जसले गर्दा भारतको भन्दा यहाँ केही सस्तो पर्छ ।
पछिल्लो महिना नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को तथ्यांकअनुसार पहिलो १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । नेपाल घुम्न आउने पर्यटनको संख्यामा वृद्धिसँगै हवाई इन्धनको आयात पनि बढेको निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार अगस्टमा १० लाख ५ हजार ८० किलोलिटर आयात भएको हवाई इन्धन नोभेम्बरमा १९ हजार ५ सय २० किलोलिटर आयात भएको छ ।
उपत्यकामा लोडसेडिङ अन्त भए पनि खाना पकाउने एलपी ग्यासको आयात भने क्रमिक रूपमा बढ्दै गएको छ । निगमको तथ्यांकअनुसार अगस्टमा २६ हजार ३५ टन आयात भएको ग्यास नोभेम्बरमा ४२ हजार ७७ टन आयात भएको निगमले जनाएको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार गाउँतर्फ ग्यासको माग बर्सेनि १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । एलपी ग्यास सजिलो र प्रभावकारी भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएको उनले बताए । निगमको तथ्यांकअनुसार १० वर्षको अवधिमा ग्यासको खपत २ लाख टनले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed