![]()
एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलका लागि युएईमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा केन्याबिरुद्ध ६ विकेटको जित निकालेको हो ।
नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा र्गयो । नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी र सोमपाल कामी बिना नै नेपाल मैदानमा उत्रिएको थियो ।
नेपालले सुरुवाती तीन विकेट सस्तैमा गुमाएको थियो । इनिङको पहिलो बलमै नेपालका ओपनर दिलिप नाथ बोल्ड भएका थिए । दोस्रो ओभरमा अर्का ओपनर सागर पुन पनि व्यक्तिगत १ रनमा पेविलियन फर्किए । अनिल साह १३ रन बनाएर आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।
चौथो विकेटका लागि कप्तान शरद भेषावकर र युवा स्टार दिपेन्द्र सिंह ऐरीले ७६ रनको साझेदारी गर्दै स्कोर १०५ र्पुयाए । जितका लागि ६ रन आवश्यक हुँदा व्यक्तिगत ४६ रन जोडेका दिपेन्द्र १९औं ओभरमा रनआउट हुन पुगे । त्यसपछि आएका आरिफ र शरदले इनिङको अन्त्य गरे । शरद ३१ र आरिफ ४ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रनको झिनो योगफल बनाएको थियो ।
नेपाल शुक्रबार भएको पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।
नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका दुई खेलहरु युएईसँग आगामी बुधबार र शुक्रबार खेल्दैछ ।


