![]()
एजेन्सी,मंसिर ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गरेका छन् । ‘ह्वाइट हाउसले टिलर्सनलाई हटाउन लागेको वा टिलर्सनले विदेश मन्त्रालयको जिम्मेवारी छोड्न लागेको भन्दै सञ्चार माध्यममा आएका समाचार झुटो र भ्रामक हो ’ ट्रम्पले ट्विट गर्दै भनेका छन् ।
‘उहाँले हामीलाई छोड्न लाग्नु भएको होइन, उहाँसँग हामी सँगै काम गर्ने छौं’ राष्ट्रपति ट्रम्पले भने । बिहीबार धेरै अमेरिकी सञ्चार माध्यमहरुमा ट्रम्प र टिलर्सनको सम्वन्ध नराम्रो भएको दाबीसहितका समाचारहरु प्रकाशित तथा प्रसारित भएका थिए ।
यस विषयमा पनि ट्रम्पले स्पष्ट पार्दै भनेका छन्ः‘हामी दुइका बीचमा त्यस्तो कुनै नराम्रो सम्वन्ध छैन ।’ विदेश मन्त्री टिलर्सनले पनि शुक्रबार ती समाचारलाई हास्यास्प्रद समाचार भन्दै गलत भएको स्पष्ट पारेका थिए । टिलर्सन अर्को हप्ता युरोप भ्रमण सुरु गर्ने तयारीमा छन् । त्यस क्रममा उनले ब्रसेल्स, भियना र फ्रान्समा नेटोका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।


