![]()
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि देशबाट लोकतन्त्र नभएर कांग्रेसको शासनसत्ता मासिने चेतावनी दिएका छन । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका ओलीले बुधबार भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कांग्रेस लोकतन्त्र हो, लोकतन्त्र नै कांग्रेस हो भनेर कुदिरहेका छन, कांग्रेस सरकारमा नहुँदा लोकतन्त्र नै रहँदैन भनेको सुन्दा अचम्म लागेर आउँछ, लोकतन्त्र होइन अब कांग्रेस मासिन्छ ।’
कांग्रेसमा लोकतन्त्रको अभ्यास, सुशासन, पारदर्शिता र सद्भाव भन्ने कुरा नै नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले अब कांग्रेसले ५ बर्ष प्रतिपक्षमा बसेर लोकतन्त्रको पाठ सिक्नुपर्ने उल्लेख गरे । ‘अबको चुनावपछि काँग्रेसलाई समाप्त हुनबाट जोगाउन ५ वर्ष प्रमुख विपक्षी पार्टी बनाएर हामीले सिकाउनु छ’, ओलीले भने ।
अर्को एक फरक प्रसंगमा ओलीले आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताए । निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषयमा ओलीले भने, ‘मेरो तर्फबाट निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कुनै किसिमको प्रचारप्रसार भएकै छैन, कसले गरायो, कसरी गरियो मलाई थाहा छैन ।’


