![]()
रोल्पा,मंसिर ।
प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गरे । प्रधानमन्त्री देउवाले भनेः‘निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त छन् । ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ ।’
कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागु गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै देशमा भएका सवै खालका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा आसन्न निर्वाचनमा समेत कांग्रेसलाई बहुमत दिएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिन सबै मतदातामा आग्रह गरे ।
दश वर्ष लामो हिंसात्मक द्वन्द्वमा रोल्पाले धेरै क्षति व्यहोरेको स्मरण गर्दै उनले भनेः‘अब कसैबाट पनि नडाएर ढुक्कसँग मतदान गर्र्नुस, द्वन्द्वले रोल्पालाई धेरै पछाडि पारेको छ, हामी रोल्पालाई अब नमुना जिल्ला बनाउँछौ ।’
कार्यक्रममा नेपाल परिवार दल रोल्पाका अध्यक्ष वसन्त शर्मा, उपाध्यक्ष खिमवहादुर कुवँरलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री देउवाले अविर तथा फूलमाला लगाएर पार्टीमा प्रवेश गराए ।


