![]()
एजेन्सी । एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।
कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ । गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ ।
अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन् ।
कफी नपिउने मानिसका तुलनामा दिनको लगभग तीन कप कफी पिउने मानिसहरुमा मुटुसम्बन्धी समस्याहरु कम देखिने वा त्यससम्बन्धी रोगका कारण कम मृत्यु हुने गरेको जस्तो देखिन्छ । कफी पिउनुको सबैभन्दा ठूलो फाइदा चाहिँ कलेजोसम्बन्धी रोग अनि क्यान्सरको कम जोखिम देखिएको छ ।
ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने बताएको छ । बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने गर्दछ । त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न उक्त अध्ययनले सुझाव दिएको छ ।
अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिंखै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन् । उनीहरुले कफीका सम्भावित फाइदाबारे थप अनुसन्धान गरिनुपर्ने बताएका छन् ।
उक्त समीक्षाबारे प्रतिक्रिया दिंदै जन होपकिन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थका इलिसियो ग्वालरले बढी कफी सेवनका प्रभावबारे अझै अनिश्चितता रहेको बताएका छन् । उनी भन्छन, “ठिक्क मात्रामा कफी पिउनु सुरक्षित नै देखिन्छ र यसलाई वयस्क मानिसहरुले आफ्नो सुरक्षित आहराको अंगका रुपमा लिन सक्छन् ।“


