![]()
बिबिसि । जिम्बाब्वेमा सेनाले सत्ता हातमा नलिएको प्रष्टीकरण दिएको छ । तर, सेनाले सरकारी टेलिभिजनलाई कब्जामा लिंदै देशमा ’सामाजिक एवं आर्थिक समस्याका लागि जिम्मेवार’ राष्ट्रपति रोबर्ट मुगाबेका निकटवर्तीहरुलाई नियन्त्रणमा लिने योजना भने सार्वजनिक गरेको छ ।
सैनिक पोशाकमा देखिएका एकजना जर्नेलले टेलिभिजनमार्फत एउटा विज्ञप्ति वाचन गर्दै सेनाले सत्ता हातमा नलिएको उल्लेख गरे । सेनाले ’कू’ अर्थात् सत्तापलट गरेको जस्तो देखिने घटनाक्रममा राजधानी हरारेमा गोली चलेको र विस्फोटका आवाज सुनिएका थिए ।
ती सैनिक अधिकारीले राष्ट्रपति मुगाबे तथा उनको परिवार सकुशल रहेको र उनीहरुको सुरक्षा सुनिश्चित गरिएको जनाएका छन् । सरकारका कम्तीमा एकजना मन्त्री र प्रहरी प्रमुखलाई पक्राउ गरिएको जनाइएको छ ।
संसद् र सरकारी भवनहरु नजिक बख्तरबन्द गाडीहरु तैनाथ गरिएका छन् । ९३ वर्षीय राष्ट्रपति मुगाबे वा उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि सत्तारुढ दलले जिम्बाब्वेका सेना प्रमुखले विद्रोहलाई बढावा दिइरहेको आरोप लगाएको थियो ।
सेना प्रमुख जेनरल कन्सट्यान्टिनो चिवेङाले राष्ट्रपति रोबर्ट मुगाबेले उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि सम्भावित सैनिक हस्तक्षेपको चेतावनी दिएका थिए । उनले मुगाबेको जानु पिएफ पार्टीभित्र भइरहेका विपक्षीलाई सफाया गर्ने निर्णयहरु रोक्न कदम चाल्न सेना तयार रहेको जनाएका थिए ।
राष्ट्रिय प्रसारक जेडबीसीमा प्रवेश गर्दा सैनिकहरुले त्यहाँ कार्यरत केही कर्मचारीमाथि दुव्र्यवहार गरेको कुरा समेत उठेको छ ।
उत्तराधिकारी चयनसम्बन्धी विवादका माझ अघिल्लो हप्ता राष्ट्रपति मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई बर्खास्त गरेका थिए । यही घटनापछि जिम्बाबेमा राजनीतिक संकट चुलिएको हो ।


