![]()
एजेन्सी,२२ कार्तिक ।
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।
उनका प्रतिस्पर्धीका रुपमा हेरिने गरेका बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी भने यो सिजन निकै फर्ममा देखिएका छन् । उनले अहिलेसम्म लिगमा १२ गोल गरिसकेका छन् । मेस्सी भन्दा ११ गोलले पछि परेको भए पनि रोनाल्डोले आफूले अब गोल गर्ने र मेस्सीलाई पछि पार्ने बताएको खबर आएको छ ।
स्पेनिस रेडियो अनदा सिरोलाई उद्धृत गर्दै एक्सप्रेसले रोनाल्डोले टिमका साथी खेलाडी मार्सेलो र सर्जियो रामोससँग मेस्सीलाई पछि पार्ने भन्दै बाजी राखेको जनाएको छ । आफू अहिले पछि परेको भए पनि अब लगातार गोल गर्दै लिगको सर्वाधिक गोलकर्ताको सूचिमा आफू अघि जाने र पिचिची अवार्ड आफूले नै जित्ने भन्दै रोनाल्डोल बाजी राखेको खबरमा दाबी गरिएको छ ।


