![]()
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रदेश र प्रतिनिधिशभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको एक होटलमा विशेष कार्यक्रमकाबीच अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गर्नुभयो ।
घोषणापत्रमा राजसंस्था र हिन्दू राष्ट्र फर्काउने संकल्प गरिएको छ । राप्रपाले नेपालको प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रबामपन्थी धरापमा फस्दै गएको दावी गर्दै त्यसबाट मुक्त गर्न राजसंस्थाको आवश्यकता औंल्याएको हो ।
घोषणापत्रमा प्रजातान्त्रिक शक्ति भनिएको नेपाली कांग्रेस उग्रबामपन्थी धरापमा फस्दै गएको सांकेतिक रुपमा उल्लेख छ । उग्रवामपन्थी समुहले आफ्नो अभिष्ट पूरा गर्न अघि सारेको रणनीतिक एजेण्डालाई नेपालका प्रजातान्त्रिक शक्तिहरुले स्वीकार गर्न बाध्य हुनुपरेको जनाइएको छ ।
नेपालको ईतिहासमा सम्भवतः सन् १८१६ पछि पहिलो पटक मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकता अहिले नै सर्वाधिक चुनौतीपूर्ण स्थितिमा रहेको भन्दै जातीय आधारमा संघीयता, एक मधेश एक प्रदेश, आत्मनिर्णयको अधिकार जस्ता मान्यताहरुले नेपालको राष्ट्रिय अखण्डतामा माथि गम्भीर प्रश्न खडा भएकोे ठहर समेत सो पार्टीले गरेको छ ।
यस्तै, घोषणापत्रमा नेपालको राष्ट्रिय पहिचानलाई कमजोर बनाउने योजनाबद्ध र संगठित प्रयास भैरहेको उल्लेख छ । धर्मनिरपेक्षताको आडमा योजनाबद्ध ढंगले लोभलालच, भ्रम र त्रास देखाई धर्म परिवर्तन गराउने कार्य भैरहेको भन्दै धर्म परिवर्तनको निशानामा अहिले सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदायका व्यक्तिहरु परेको जनाएको छ ।
राप्रपाले नेपाललाई अस्थिर तुल्याई आफ्नो अभीष्ट पूरा गर्न राष्ट्रिय÷अन्तराष्ट्रिय शक्तिहरुको चलखेल बढेको समेत जनाएको छ । एमाले माओवादी गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धन पनि विदेशी चलखेलकै कारण बनेको राप्रपाको दावी छ ।


