![]()
बिबिसि । स्पेनले बर्खासीमा परेका क्याटलान नेता कारलस पुज्डमोन र उनका चारजना पूर्व मन्त्रीहरुविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरेको छ । मड्रिडस्थित उच्च अदालतमा उपस्थित नभएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ आदेश जारी गरेको हो ।
क्षेत्रीय सरकारका ९ जना पूर्व सदस्यहरुलाई चाहिँ न्यायिक हिरासतमा लगिएकोमा एकजना ५० हजार युरो तिरेर जमानतमा रिहा भएका छन् । उनीहरुमाथि क्याटलोनियाको स्वतन्त्रताका लागि विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
बेल्जियमका अभियोजनकर्ताहरुले स्पेनबाट जारी गरिएको पक्राउ पूर्जी आफूहरुले प्राप्त गरेको बताएका छन् । न्यायाधीशहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाउन दिनुअघि आफूहरुले ती कागजातको अध्ययन गर्ने अभियोजनकर्ताहरुले उल्लेख गरेका छन् ।
स्पेनले विद्रोह र देशद्रोहको मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलान नेताहरु गत हप्ता बेल्जियम पुगेका थिए । बर्खास्त गरिएका क्याटलान पूर्व राष्ट्रपति पुज्डमोनले निष्पक्ष सुनुवाइको सुननिश्चितता नभएसम्म स्वदेश नफर्किने बताउँदै आएका छन् ।
पूर्व नेताहरुलाई गरिफ्तार गरिएको विरोधमा क्याटलोनियामा हजारौं मानिसले प्रदर्शनहरु गरेका छन् । स्वतन्त्रताका लागि गत अक्टोबर १ मा गराइको जनमत संग्रहलाई स्पेनले अवैधानिक घोषणा गरेपछि एक हप्ताअघि क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । त्यसपछि स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको संसद् विघटन गर्दै त्यहाँ प्रत्यक्ष शासन लागू गरेका थिए ।


