![]()
एजेन्सी,१३ कार्तिक ।
स्पेनिस लालिगामा आइतबार भएको खेलमा नवप्रवेशी टोली गिरोनासँग २–१ को हार व्यहोरेपछि युरोपेली च्याम्पियन रियल मड्रिडको उपाधि होडमा धक्का लागेको छ । पहिलो रोजाईका गोलरक्षक केलर नाभास र स्ट्राइकर गारेथ बेलबिना मैदानमा उत्रेको रियल मड्रिडले खेलको १२ औँ मिनेटमा इस्कोको गोलमा अग्रता लिएको थियो । तर गिरोनाको अब्बल रक्षा पंक्तिको अगाडि रोनाल्डो, बेन्जेमा, इसेन्सियोको केही लागेन । भर्खरै फिफा द बेस्ट अवार्ड जितेका रोनाल्डोले पनि आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
पहिलो हाफमा लिएको अग्रतालाई मात्र पनि जोगाउन सकेन रियलले । रियल मड्रिडको रक्षा पंक्तिको कमजोरीको फाइदा उठाउँदै गिरोनाका लागि ५४ औँ मिनेटमा स्टुआनीले पहिलो गोल गरेका थिए । खेलको ५८ औँ मिनेटमा पोर्टुले गिरोनाका लागि विजयी गोल गरे ।
स्पेनमा जारी राजनीतिक तनावका बीच रियल मड्रिड गिरोनामा उत्रिएको थियो । क्याटलनले स्पेनबाट छुट्टिने घोषणा गरेपछि क्याटलन सहरमा ला लिगाको पहिलो खेल भएको थियो ।
रोनाल्डोको प्रदर्शनलाई लिएर गिरोनाका प्रंशसकले‘मेसी मेसी’ भन्दै जिस्काइरहेका थिए । गिरोनासँगको हारसँगै लालिगाको अंकतालिको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग रियल मड्रिड ८ अंकले पछाडि रहेको छ । ११ खेलबाट बार्सिलोनाको २८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियिाले समान खेलबाट २४ अंक जोडेको छ भने रियलले २० अंक जोडेको छ । यो सिजनमा रियल मड्रिडको यो दोस्रो हार हो ।


