![]()
एजेन्सी,३ कार्तिक ।
पछिल्लो समय इंग्लिस क्लब एभर्टनको खेल खासै सन्तोषजनक देखिँदैन । इंग्लिस प्रिमियर लिगमा होस वा युरोपा लिगमा उसको प्रदर्शन राम्रो छैन । बिहीबार राति युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब लियोनसँग २–१ को हार बेहोर्यो ।
तर बिहीबारको खेल जित हारले भन्दा खेलमैदानलाई खेलाडीले खेलेको कुस्तीले चर्चामा छ । खेलको दोस्रो हाफमा एभर्टनका क्याप्टेन एस्ले विलियम्स लियोनका गोलरक्षक एन्थोनी लोप्ससँग ठोक्किन पुगे । विवाद त्यहीँबाट सुरु भयो । त्यही विवादमा विलियम्सले लियोनका खेलाडीलाई मैदान बाहिर राखिएको विज्ञापनको होर्डिङ बोर्डतर्फ धकेले । त्यसपछि एभर्टनका फ्यान एन्थोनी लोप्समाथि एक्कासी आक्रमण गर्न लागे ।
एभर्टनका एक जना फ्यान त काखमा सानो बच्चा च्यापेर एन्थोनी लोप्सलाई आक्रमण गर्न खोज्छन् । खेलमा लगभग होस गुमाएका विलियम्स रेड कार्डबाट भने जोगिए । उनले लियोनका गोलरक्षक एन्थोनी लोप्सलाई धकेलेको विवाद गरेकोमा पहेलो कार्ड पाए । घटनाको बारेमा युएफाले अनुसन्धान गर्ने भएको छ । एभर्टनमाथि प्रतिबन्धसमेत लाग्न सक्ने बताइएको छ ।


