![]()
काठमाडौ,१९ असोज ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन निर्माण गर्दै संघ र प्रदेश निर्वाचनमा तालमेल गर्ने घोषणा गरेपछि त्यसलाई काउन्टर गर्न नेपाली कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माणको लागि ६ सदस्सिय कार्यदल समेत बनेको छ । कार्यदलले मोडालिटी तयार पार्ने जनाईएको छ ।
गठबन्धनमा कांग्रेससँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिक रहने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्षनेताहरूको बैठकले निर्वाचनका लागि गठबन्धन बनाएर तालमेल गर्ने निर्णय गरेको छ ।
संघ र प्रदेश निर्वाचनमा तालेमेलका लागि गठबन्धनले कार्यदल समेत बनाएको छ। कांग्रेसका तर्फबाट दुई जना र अन्य पाँच दलबाट एक–एक जना सदस्य रहने ७ सदस्यीय कार्यदल बनाएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए। बैठकले एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन अप्राकृतिक भएको ठहर समेत गरेको छ। बैठकमा पाँच दलका नेताहरूले वामपन्थी गठबन्धन निर्माणपछि कतै निर्वाचन नै नहुने त होइन भन्ने जिज्ञासा प्रधानमन्त्रीलाई राखेका थिए।
जवाफमा देउवाले निर्वाचन गराएर छाड्ने बताएका थिए। उनले लोकतान्त्रिक गठबन्धनको आवश्यकता निर्वाचन सम्पन्न गराउनकै लागि भएको बताएका थिए। देउवाले लोकतान्त्रिक गठबन्धन तात्कालिक नभएर दीर्घकालिन सहकार्यका लागि भएको उल्लेख गरेका थिए।
बैठक चुनावी तालमेलमा केन्द्रित रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए । उनले भनेः‘कांग्रेस ठुलो पार्टी हो, गठबन्धनका लागि कांग्रेस कति गम्भीर हुन्छ त्यसमा भर पर्छ । भोली कार्यदलको बैठक बस्छ। एक दुई दिनमा यसले एउटा निर्णय गर्छ।’


