![]()
काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको छ ।
राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी तीनै पार्टीका प्रमुखले सहमतिपत्र हस्ताक्षर गरी गठवन्धन घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले यो गठवन्धन मुलुकको हीत र विकासका लागि मात्र भएको बताए । उनीहरुले गठवन्धन कसैका बिरुद्धमा नभइ मुलुकको हीतमा मात्र केन्द्रीत भएकाले शंका उपशंका नगर्न आग्रह गरे ।
सहमतिअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा एमालेले ६० र माओवादीले ४० प्रतिशत क्षेत्र पाउनेछन् । सहमतिका आधारमा नयाँ शक्ति र अन्य साना वाम दललाई समेत सिट छुट्टाउने निर्णय एमाले माओवादीले गरेका छन् ।
कार्यक्रममा गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सहमतिपत्र पढेर सुनाएका थिए । निर्वाचनपछि तीन पार्टीको विधिवत् एकता घोषणा गर्ने सहमतिमा उल्लेख गरिएको छ । पार्टी एकता नभएसम्म एकअर्काको विरोधमा नकारात्मक टिप्पणी नगर्ने सहमति भएको छ । पार्टी एकताका लागि ८ सदस्यीय एकता संयोजन समिति गठन गरिएको छ ।
समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र ईश्वर पोखरेल छन् । माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । नयाँशक्ति तर्फबाट बाबुराम भट्टराई छन् ।


