Breaking News.... EverestOnlineKhabar
August 14, 2026

चुनावी तालमेलको आवरणमा फेरी गठबन्धन फेरबदलको गृहकार्य सुरु

Loading

काठमाडौ,१७ असोज ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दलहरुबीच तिव्र धु्रविकरण सुरु भएको छ । चुनावलाई लक्षित गरी दलहरुबीच भईरहेको तालमेलको गृहकार्य अन्र्तगत एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले राजनीति तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ ।
एमालेले माओवादीसँग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ । उसले आइतबार स्थायी समिति बैठकबाटै वाम तालमेल र एकीकरण जरुरी भएको भन्दै त्यसका लागि पहल गर्ने निर्णय लिएको थियो । माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्दा जुटेको दुई पार्टीसहितको गठबन्धन ९ महिनामा टुटेको थियो । ओली सरकारपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन गरी अघिल्लो वर्षको साउनमा दोस्रोपल्ट प्रधानमन्त्री बनेका थिए । त्यसयता लगातार कांग्रेस–माओवादी केन्द्रको गठबन्धन जारी छ भने एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । पछिल्लो समय दुई वामपन्थी पार्टी मिलेर अघि बढ्नुपर्नेमा नेताहरूबीच एकमत रहेको वरिष्ठ नेता नेपालले बताए ।
स्रोतका अनुसार ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको एकता र तालमेलका सन्दर्भमा कुनै नेताले पनि फरक मत राखेका थिएनन् । वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्ति एकबद्ध हुनुपर्ने बैठकले औंल्याएको थियो । एमाले सचिव प्रदीप ज्ञवालीले केही सातादेखि यो विषयमा दुई दलका नेताबीच छलफल चलिरहेको जानकारी दिए । दुई दलबीच साझा चिह्नमा चुनाव लड्ने, गठबन्धन सञ्चालन गर्न संयोजन कमिटी बनाउने र दुवै दलको अध्यक्ष हाइकमान्ड हुने प्रस्तावमा समेत छलफल भइरहेको छ ।
एमालेले एकताका लागि २ वटा सर्त राखेको छ । पहिलो वर्तमान सत्ता गठबन्धनबाट अलग हुने र दोस्रो एकभन्दा बढी वामपन्थी पार्टी अस्तित्वमा रहन सक्छन् भन्ने कुरा नीतिगत रूपमा स्वीकार गर्नुपर्ने । यसअघि माओवादी केन्द्र अध्यक्ष दाहालले एउटा मुलुकमा दुई वा बढी वामपन्थी दल अस्तित्वमा हुन नसक्ने भन्दै एमालेको आलोचना गरेका थिए ।
एमालेको निर्णय सार्वजनिक भएकै दिन माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पामा दुई पार्टीबीच एकीकरण सम्भव भएको टिप्पणी गरेका थिए । पुन कांग्रेससँग समीकरण गर्ने नेतामध्येका एक मानिन्छन् । स्थानीय तहका तीन चरणका निर्वाचनपछि समग्रमा एमाले नै एक नम्बरमा रह्यो भने प्रदेश २ मा कांग्रेस पहिलो पार्टी बन्यो ।
कांग्रेस–माओवादी नयाँ गठबन्धन बनेको १४ महिना नपुग्दै वाम गठबन्धनको गृहकार्य सुरु भएको छ । गठबन्धन धरमरमा पर्नुको कारण आधिकारिक रूपमा प्रमुख कुनै दलले नभने पनि यसबीच कांग्रेस–माओवादी केन्द्रबीचको सत्ता सहकार्यको अनुभव, स्थानीय तहको चुनावी परिणाम, दलका एजेन्डामा आपसी तिक्तता र आउँदो मंसिरमा हुने प्रदेश र केन्द्रको चुनाव नै गठबन्धन फेरबदलको कारण हुन सक्ने देखिन्छ ।
कांग्रेस र माओवादी केन्द्रले चाहेर पनि प्रदेश २ मा चुनावी तालमेल गर्न सकेनन् । छिटपुट रूपमा भएका तालमेल पनि सफल भएनन् । यी दुई दलसँग परिणाममा पहिलो र दोस्रो भए पनि तालमेल हुन नसकेको तीतो अनुभव छ । उता एमालेले पनि तराई–मधेसमा आकलन गरेजति मत प्राप्त गर्न सकेन । एक अर्थमा उसले मधेसमा आफ्नो स्थानलाई मिस गरेको छ । माओवादी केन्द्रसँग सहकार्य हुन सकेको भए एमाले प्रदेश २ मा पनि पहिलो स्थानमा आउन सक्ने नेताहरूको विश्लेषण छ । किनकि माओवादी केन्द्र एक्लैले उक्त प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ । कतिपय पदमा एमालेका उम्मेदवार थोरै मतान्तरमा पराजित भएका छन् ।
कांग्रेस र माओवादी केन्द्रका विपरीत धारका सिद्धान्त र पार्टी एजेन्डाले आगामी चुनावमा असर पर्ने आशंका पनि छ । सोमबारकै माओवादी सचिवालय बैठकमा बोल्ने कतिपय नेताले यो प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed