Breaking News.... EverestOnlineKhabar
June 7, 2026

तेस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी

Loading

एजेन्सी । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोली अभ्यास गर्न भारतको चेन्नईमा छ ।

शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ए लाई १४७ रनले पराजित गरेको हो । मुरुगप्पा क्रिकेट मैदानमा नेपालले दिएको ३१२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५ ओभर ३ बलमा अलआउट हुँदै १६४ रनमा समेटियो । अभ्यास खेलमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले मेलापुरे रिक्रियसन र डिन्डिगुल ड्रयागन्सलाई पराजित गरेको थियो । बिशेष प्रशिक्षणको लागि भारत गएको नेपाली टोलीले अब एक अभ्यास खेल खेल्ने छन् ।

नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले शतकीय पारी खेल्दा सागर पुन र दिपेन्द्र सिंह एरीको अर्धशतक बनाए । तमिलनाडुविरुद्ध उत्कृष्ट सुरुवात गरेको नेपालको लागि शरदले १०० रन बनाए । शरदले ११९ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । त्यस्तै ओपनर सागरले ९९ बलमा ७७ रन बनाए भने चौथो नम्बरमा ब्याटिङ गर्न आएर दिपेन्द्रले ७३ रन बनाए । दिपेन्द्रले बिष्फोटक ब्याटिङ गर्दै ३७ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । नेपालको उच्च स्कोरमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ले ३१ रन बनाए । कप्तान पारस खड्कालाई आराम दिएर ज्ञानेन्द्रलाई कप्तानी दिइएको खेलमा उनले ३७ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग उसैको मैदानमा आगामी अक्टोबर १३ र १५ मा खेल खेल्ने छ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुबै खेल जित्नै पर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । हङकङ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed