![]()
एजेन्सी । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गरेसंगै नेपाल आणविक हतियार नियन्त्रण सम्बन्धी मुलुकको पक्षधर बनेको हो ।
सन्धिमा हस्ताक्षर गरेसंगै उपप्रधानमन्त्री महरा असंलग्न अन्दोलनमा सहभागी मुलुक (जी ७७) मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री महराले विश्वमा देखिएका मतभिन्नतालाई वार्तामार्फत सुल्झाउनु पर्ने धारणा राख्नुभयो ।
त्यसलगत्तै मन्त्री महरा ‘भियना कार्यक्रमको कार्यान्वयनमा गतिशीलता तथा दिगो विकासका लागि २०३०’ भन्ने मुख्य मुद्दामा आधारित भूपरिवेष्टित विकासशील मुलुकको १६औं वार्षिक मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । त्यसपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आयोजना गरेको संयुक्त राष्ट्र संघको शान्ति स्थापनासम्बन्धी उच्चस्तरीय खुला बहसमा उहाँ सहभागी हुनुभयो । सोही दिन उनी दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा पनि उहाँले सहभागिता जनाउनुभयो ।


