![]()
काठमाडौं । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै यो सुविधा प्राप्त भएको हो । नयाँ ‘मोबाइल एप्लिकेशन’ निर्माणसंगै सबै सूचना तथा जानकारी अब मोबाइलबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।
मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र पनि सजिलै पढ्न सकिने छ । राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र पनि खोज्न सकिने छ । चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने विभागले जनाएको छ । बिभागका अनुसार यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाइने छ ।
मुद्रण विभागले बनाएको राजपत्रलाई विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो । विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको छ ।
यसअघि राजपत्रमा प्रकाशित सूचनालाई मुद्रण विभागले आफ्नो वेभसाइटमा राख्दै आएको थियो । एप्लिकेशन शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रविधिको युगमा यस्ता एप्लिकेशनले ठूलो महत्व राख्ने बताए । मन्त्री बोहराले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाली वैज्ञानिकलाई स्वदेशमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुद्रण विभागबाट राजपत्रमा प्रकाशित सूचनालाई मोबाइल एप्लिकेशन मार्फत आमजनतासमक्ष पुर्याउन विभागले गरेको कामको प्रशंसा गरे ।


